मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको साथ पाएर सरकारको नेतृत्व गरेको आजबाट ७ महिना पूरा भएको छ । संविधान संशोधन गर्ने मूल उद्देश्य बोकेर सरकार गठन भएको दुहाई दिने कांग्रेस र एमालेका शीर्ष नेताहरु नै अहिले संविधान संशोधनको एजेण्डा बोक्न छाडेका छन् ।
प्रधानमन्त्री ओलीले त सार्वजनिक रुपमै संविधान संशोधन अब २०८७ सालमा हुने भन्दै नयाँ तिथि घोषणा गरेका थिए । ओलीको संविधान संशोधन गर्नेबारे तोकिएको नयाँ मितिको कारणपनि राष्ट्रिय राजनीतिमा तरंग पैदा भएको थियो । सत्ता सहयात्री दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरुले नै ओलीले किन यसरी संविधान संशोधनको एजेण्डालाई बेवास्ता गरेको र आफूखुशी नयाँ मिति घोषणा गरेको भनेर असन्तुष्टि पोखेका थिए ।
कतिपय नेताहरुले त सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति ७ बुँदे सहमतिको भावनाविपरित भन्दै सभापति शेरबहादुर देउवासँग जवाफ माग्ने बताएका थिए । तर, प्रधानमन्त्रीकै तहबाट राष्ट्रियसभामा कांग्रेस र एमालेको बहुमतसमेत नभएको अवस्थामा अहिले नै संविधान संशोधन हुन्छ भन्नु मुर्खता हुने भन्दै दुवै दलको स्पष्ट बहुमत आएपछि र बृहत्त छलफलपछि मात्रै संविधान संशोधनको एजेण्डामा पुगिने भनेर प्रष्टीकरण आएपछि यो विषय मत्थर भएको थियो ।
तर, केही हप्ता नबित्दै सरकारले अध्यादेशको गृहकार्य गर्यो । विषयगत विज्ञहरुको प्रदर्शनसहित कांग्रेस र एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देशलाई द्रुत गतिमा विकास गर्ने उद्घोषसहित विभिन्न अध्यादेश ल्याउने बैठक गरे । कांग्रेसले त संसदीय दलको बैठकमा अध्यादेश ल्याउन भूमिका खेल्ने विज्ञहरु नै प्रदर्शन गर्यो । कतिसम्म भने अध्यादेश पारित हुनेबित्तिकै विकास र समृद्धिको मूल फुट्छ भनियो ।
बालुवाटारमा विभिन्न स्वार्थ समूह राखेर अध्यादेशको स्वागत गरियो । सबैभन्दा विवादित विषय बनेको भूमिसम्बन्धी अध्यादेशको चौतर्फी आलोचना हुन थाल्यो । तर, सरकार अध्यादेश पारित गर्ने ससदीय क्यालेण्डरबाट एकपछि अर्को गरेर ब्याक हुन थाल्यो । अध्यादेश ल्याउँदा सत्ता पक्षमा नै रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालसँग छलफल गरिएन । यादवले आफ्नो पार्टी विभाजन गरेको बदला अहिले अध्यादेश पारित गर्ने मुखमा आएर ओलीसँग लिएका छन् । उनले अध्यादेशको विषयमा तत्कालै निर्णय दिएनन् ।
विज्ञहरुसँग छलफल गरेर उनीहरुको रायसहित निश्कर्षमा पुग्ने अडान लिए । यादवको अडानबाट प्रधानमन्त्री ओलीमात्रै नभएर कांग्रेस सभापति देउवापनि बिच्किए । दुवै नेताले तारन्तार यादवलाई फकाउने प्रयास नगरेको होईन । तर, यादव ओलीसँग पार्टी विभाजन गरेको बदला लिने मुडमा थिए । योबीचमा यादवलाई अध्यादेश देखाएर सत्ताको बार्गेनिङ गरेको भन्नेसमेत आरोप लगाईयो ।
तर, यादवले सत्ताको बार्गेनिङ गरेको भन्नेहरुलाई सरकारले ल्याएका अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेश पारित नगर्ने निर्णय लिएर हिजो गतिलो जवाफ दिए । आँफैले ल्याएको अध्यादेशसमेत पारित नहुने स्थितिमा पुगेपछि प्रधानमन्त्री ओली यतिवेला रक्षात्मक बनेका छन् । यसको नैतिक प्रश्न कांग्रेस नेतृत्वसमक्षपनि तेर्सिएको छ । खासगरी सभापति देउवा र अध्यादेशको लागि सबभन्दा बढि सक्रियता देखाउने महामन्त्री गगन थापा रक्षात्मक बन्नुपरेको छ ।
संसदबाट अध्यादेश पारित गर्ने सामान्य बहुमत समेत सुनिश्चित् नगरी के को आधारले यी अध्यादेश ल्याईयो भनेर कांग्रेस र एमाले दुवै दलभित्रबाट आलोचनाका स्वर सुनिन थालेका छन् । दुईतिहाईको धाक लगाउने प्रधानमन्त्री ओलीले अब फागुन ४ गते हुने सांसदहरुसँगको प्रश्नोत्तरमा यो विषयमा कुन मुखले जवाफ देलान् भन्ने बहस हुन थालेको छ । कांग्रेस र एमाले भित्रैबाट अध्यादेश पारित गराउने सवालमा पनि बालुवाटार र बुढानिलकण्ठले दम्भ पालेको र सत्ता गठबन्धनमा दललाई उपेक्षा गरेकोले अहिलेको अवस्था सिर्जना भएको निश्कर्ष निकालेका छन् ।
कांग्रेसमा देउवाको विकल्प खोज्नुपर्छ भनेर बहस चलाउनेहरुले यो नैतिक संकटको कारण अहिलेको सरकारको निरन्तरतामा पनि प्रश्न उठाउनुपर्ने मत राख्छन् । प्रधानमन्त्री ओलीले पनि पछिल्लो समय कांग्रेससँग सत्ता सहकार्यमा सहजता महशुस नगरेको चर्चा छ । सरकार सञ्चालनमा आवरणमा देउवाबाट उदार साथ पाएकोजस्तो देखिएपनि गुह्य रुपमा सरकार सञ्चालनमा ओलीले एकपछि अर्को हस्तक्षेप र अवरोधको महुशस गरेका छन् ।
अध्यादेश ल्याईएपछि पनि माओवादीसँगको तिक्ततापूर्ण सम्बन्ध हुँदापनि ओलीले आफ्ना दूतमार्फत सहयोग खोज्नु कांग्रेससँगको सहकार्य लामो नजाने निश्कर्षसहित चालिएको कदमको रुपमा व्याख्या गरिन्छ । यद्धपी अध्यादेशमा एमाले महासचिव शंकर पोख्रेलले सहयोग मागेको खुलासा गरेका वर्षमान पुनमाथि स्वयम पोखरेलले स्पष्टीकरण दिनु र बलियो वाम ध्रुवीकरणको लागि पहलकदमी लिन फोनवार्ता भएको खुलासा हुनुले पनि कांग्रेस र एमालेबीच स्वभाविक रुपमा सरकार सञ्चालनको यात्रा अघि नबढेको निश्चित हुन्छ । कांग्रेसका केही नेताले त सभापति देउवासँग शंकर पोख्रेलको उक्त प्रस्तावबारे जवाफ माग्नेसम्मको तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP