
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली एमालेको नेतृत्वमा रहँदासम्म नेपालमा वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । आज (सोमबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पहिला निकै जोखिम मोलेर माअोवादी केन्द्र र एमालेबीच एकता भएको उनले स्मरण गराए । अध्यक्ष प्रचण्डले तत्कालीन नेकपालाई जनताले मन पराएको र भोट पनि दिएको बताए ।
‘वामपन्थी एकताको लागि भनेर धेरै ठूलो जोखिम उठाएर पहिला पनि हामीले पार्टी एकता गरेकै हो । चुनाव सँगै मिलेर लडेको पनि हो, जनताले साथ दिएको पनि हो । तर, एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालमा कम्युनिष्ट एकता, वामपन्थी एकता हुने स्थिति छैन,’– उनले भने ।
साथै, माओवादीको ध्यान अहिले सरकारतिर नरहेको उनको दाबी छ । अध्यक्ष प्रचण्डले माओवादी अहिले संगठन विस्तारको अभियानमा रहेको बताए । उनले भने, ‘अहिले हाम्रो सरकारमा ध्यान छैन । हामी जनतामा जाने, जागरण ल्याउने, नयाँ किसिमले पार्टी विस्तार गर्ने अभियानमा छौं । यो अभियान हाम्रो लागि, देशको लागि जरुरी भएको छ ।’