मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन् । अनेरास्ववियू क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

२०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताए । ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो । जनतामा ठूलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ’– उनले भने, ‘म विहानको मर्निङ वाकदेखि दिनभरि जनताकै बीचमा खट्ने गरेको छु, जनताकै उत्साह र प्रेरणाबाट यो सम्भव भएको छ । म जीवनभर यो अभियान जारी राख्ने छु ।’

आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरु आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए । नयाँ पुस्ताका लागि मेहनत र संघर्ष आवश्यक रहेको उल्लेख गर्दै उनले विहान ५ बजेदेखि रातिसम्म मेहनतका लागि आफूबाट सिक्न पनि आग्रह गरे ।

‘म ७० वर्षमाथिको सँग तपाईँहरु ३२ वर्षमुनिकोले प्रतिस्पर्धा गर्नुपर्ने भयो, जनतामा जाने प्रतिस्पर्धा । कम्युनिष्टहरुले जाँच दिइराख्नुपर्छ । माओले एकचोटी भन्नुहुन्थ्यो, एकचोटी जाँच दियो, पास भइयो, अब पुग्यो भन्ने हुँदैन । बाचिन्जेल जाँच दिइराख्नुपर्छ र टेस्टबाट म योग्य छु भन्न पास भइराख्नुपर्छ,’– उनले भने ।

यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्दै उनले यसपटक पुरानो विरासत स्थापित गरेको बताए । ‘पार्टीहरु प्रतिबन्धित भएको विद्यार्थी संगठनबाट राजनीति व्यक्त हुन्थ्यो । विद्यार्थी संगठनहरुले के भन्छन् भन्ने कुराले त्यतिबेलाको राजनीति कता जाँँदैछ भन्ने व्यक्त हुन्थ्यो । विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिगत भए पनि पार्टीहरुले भूमिका निर्वाह गरिरहेका हुन्थ्यो’– अध्यक्ष प्रचण्डले भने, ‘यसपटक अखिल क्रान्तिकारीले त्यो विरासतअनुसार आफ्नो छाप स्थापित गर्न सफल भएको छ ।’

सिंगै देशको ध्यान अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले यसले संगठको पहिचान थप उँचो बनाएको बताए । ठूलो उत्साहका साथ उद्घाटन भए पनि बन्दसत्र अलिअलि महाभारत जस्तो भएकाले धेरैमा चिन्ता सिर्जना भए पनि अन्तिममा लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन हुनु महत्वपूर्ण भएको बताए ।

अध्यक्ष प्रचण्डले उमेर हद र नेतृत्व दुबैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर पार्टी दृढतापूर्वक लागेको र यसमा पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्वपूर्ण अभ्यास भएको बताए । यसबाट माओवादीले नीति र नेतृत्व दुबै लोकतान्त्रिक विधिबाट टुंग्यायो भन्ने शक्तिशाली सन्देश स्थापित भएको पनि उनले स्पष्ट पारे ।

विद्यार्थी संगठनको निर्वाचनपछि आफूले यसपटक सही विवेकको प्रयोग गरेको संश्लेषण गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले आएको परिणामले मिलेर अघि बढ्ने र संगठनलाई एकताबद्ध बनाउने वातावरण बनेको बताए । यो चुनावले विद्यार्थी नहुने तर विद्यार्थी नेता हुने स्थितिको अन्त्य गरेको बताए । उनले अब विद्यार्थी संगठनलाई पार्टीले एकताबद्ध बनाएर लैजान सहयोग गर्ने बताए ।

संसारभरिको कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताए । यो कम्युनिष्टहरुको महत्वपूर्ण दर्शन भएकाले व्यक्ति र गुटवादी होइन, मार्क्सवादी भएर अघि बढ्न विद्यार्थी नेतृत्वलाई आह्वान गरे ।

आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उनले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि महत्वपूर्ण चुनौतीको रुपमा रहेको बताए । स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन निर्देशन दिंदै उनले एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP