आइतबार , जेठ २६, २०८२

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको बुईं चढेर नेपाली जनतालाई तर्साउन खोजेको आरोप लगाएका छन् । उनले देउवा दम्पत्तिको बुईं चढेर दुनियाँलाई नतर्साउन ओलीलाई चेतावनी दिए ।

आम जनता पार्टीको दोस्रो स्थापना दिवस समारोह–२०८१ लाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री साहले अहिलेको सरकार नै पवित्र उद्देश्यले नबनेको आरोप लगाए । साहले भने,‘अहिलेको यो सरकार अनैतिक र अप्राकृतिक छ । हामी यसको अन्त्य चाहन्छौं । केपी ओलीले देउवा दम्पत्तिको बुँई चढेर दुनियाँलाई तर्साउन खोजिरहेका छन् । अपवित्र बाटोबाट देशलाई अन्धकारमा धकेल्न खोजिरहेका छन् । कांग्रेस पार्टी त्यस्तो थिएन । विपीको विचार बोकेको कांग्रेस पार्टी त्यसो गर्न सक्दैन् । मदन भण्डारीको लिगेसी बोकेको एमालेले त्यसो गर्ने सोच्नै सकिँदैन । तर, अहिले ओली एण्ड देउवा कम्पनीको सरकार छ । यसले देशलाई गलत दिशा दिइरहेको छ ।’

सो क्रममा अध्यक्ष साहले अहिले दलाल दलतन्त्र हाबी भएकोले देश दूरावस्थामा गुज्रिरहेको टिप्पणी गरे । तर, आफूहरुको नेतृत्वको आन्दोलनले नेपालमा छिट्टै दलाल दलतन्त्रको अन्त्य हुने र आम जनता शासक एवम् मालिक बन्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘आज नेपाल संकटबाट गुज्रिरहेको छ । सत्ता स्वार्थको अपवित्र, अनैतिक राजनीतिले जनता निराश छन् । जनता उकुमुकुसको अवस्थामा छन् । देशमा बढ्दो अस्थिरताको कारण देशकै अस्तित्व संकटमा परेको कुरा हामीले हेरिरहेका छौं । नेपाली जनताले अहिले देशमै भविष्य देख्न छाडे, हाम्रा युवाहरु विदेश पलायन हुँदैछन् । कुनै समय यस्तो थियो नेपालीहरु नेपालप्रति गौरव गर्दथे । अहिले विदेशी नागकिरता लिनेहरु गौरव गर्ने अनि यही देशमा बस्नेहरु पछुताउने अवस्था निर्माण भएको छ ।’

साहले नेपालका ठूला भनाउँदा नेताहरु विदेशीको इशारामा चलिराखेको गम्भीर आरोप लगाए । उनले भने,‘नेपालका नेताहरु विदेशीको ईशाराबिना श्वाँसपनि फेर्न सक्ने अवस्थामा छैनन् । वैदेशिक हस्तक्षेप बढ्दो छ ।’

नेपालको विगत गौरव गर्नलायक भएपनि अहिलेका चोर नेताको कारण देशको अस्तित्व नै संकटमा पर्न थालेको साहको चिन्ता छ । उनले भने,‘इतिहासले भन्छ–नेपाल कहिल्यैपनि कसैको गुलाम भएन । कुनैपनि साम्राज्यवादीको उपनिवेश भएन । नेपालले एक स्वतन्त्र हैसियत बनाईराखेको थियो । तर, नेपालका दलाल नेताहरुको कारण अहिले देशकै अस्तित्व संकटमा छ । गौतम बुद्धको भूमि, यो देशले कुनै बेला पूरा विश्वलाई ज्ञान, ध्यान अनि दर्शन दिन्थ्यो । यो देव भूमि, तपस्याको भूमि । नेपाल आज विदेशीबाट गाईडेड छ । नेपालका नेताहरुको कुकर्मको कारण नेपाल आज लज्जित भएको स्थिति छ । हाम्रो पूर्वजले निर्माण गरेको गौरवलाई हामी फेरि माथि उठाउन सक्छौं । चोर नेताको कारण धुमिल भएको देशको इमेज फेरि बढाउन सक्छौं । नेपाली धर्ती गौरवशाली थियो । विदेशीहरु यो धर्ती टेक्नसाथ नतमस्तक हुन्थे । तर, आज यहाँका नेताहरुको कारण हामी लज्जित भएका छौं । नेपालीहरुको शीर निहुरिएको छ । अहिले त हरेक नेपाली विदेश जाने बहाना खोजिरहेका छन् । तर, म यो समारोहमार्फत तपाईंहरुलाई साक्षी राखेर भन्न चाहन्छु–हामी नेपालको गौरव बढाउँछौं ।’

उनले अहिलेको व्यवस्थाले सही निकास नदिने भन्दै यसको अन्त्य आफूहरुले चाहेको र संघर्षको मैदानमा होमिएको स्मरण गराए । उनले थपे,‘हामी नेपालको परिवर्तनको लागि धेरै लड्यौं । राजनीतिक आन्दोलन गर्यौं । नेपाल समृद्ध होस, जनतापनि समृद्ध होउन् भनेका थियौं । तर, यो भागबण्डाको राजनीतिले देश बर्बाद हुँदैछ । जनता लाचार छन् । नेपालको व्यवस्था गलत छ । नेता गलत छन् । त्यसलाई अन्त्य गर्न चाहन्छौं । गलत व्यवस्थालाई फाल्छौं । नेपाली जनतालाई मालिक बनाउँछौं ।’

उनले अहिले ‘एउटा राजालाई हटाएर दर्जनौं राजा बनेका’ आरोप लगाए । उनले भने,‘हिजो राजाका आसेपासेले रा जगर्दथे, तर आज नेताका आसेपासेले राज गर्छन् । नेपाली जनता यतिवेला निराश छन्, उनीहरुलाई उत्साही बनाउँछौं । आजको यो ऐतिहासिक समारोह तेस्रो जनआन्दोलनको उद्घोषको दिनपनि हो । नेपालका नेताहरु गलत भएकै कारण आज देशमा यो बर्बादी भएको छ । म भन्छु–नेपाली जनता बहादुर छन् । सक्षम छन् । बरु, देशमा गलत नेतृत्व अनि गलत व्यवस्था छ । गलत राजनीति छ । हामी यसको अन्त्य चाहन्छौं । हामी चान्छौं पवित्र राजनीति होस । नैतिक राजनीति होस । देशमा सही व्यवस्था होस । नेपालमा त पटक पटक आन्दोलनमा त्याग, बलिदानी र समर्पण गर्नेहरुप्रति घात भयो । उनीहरुप्रति बेईमानी भयो । अब बेइमानहरुलाई तह लगाउने दिन आइसकेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP