मंगलबार , बैसाख २९, २०८३

भीम रावललाई पार्टीबाट निष्कासन गर्ने र अरु दुई नेतालाई ६ महिना निलम्बन गर्ने निर्णयका कारण नेकपा एमाले पंक्ति विभाजित बन्न पुगेको छ ।

एउटा हिस्साले पूर्वउपाध्यक्ष रावललाई निष्कासन गर्ने अनि विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि ६ महिना निलम्बन गर्ने निर्णयको रक्षा गरिरहेका छन् ।

बुधबार बसेको सचिवालय बैठकमा पनि केही पदाधिकारीले कारबाहीको निर्णयमा खुलेर समर्थन जनाएका थिए । बैठक स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र सचिव रघुबीर महासेठ कारबाहीको पक्षमा उभिएका थिए ।

‘सबैले आफ्नो कुरा राख्नुभयो । बैठक लामो पनि चल्यो । केहीले पक्षमा कुरा राख्नुभयो, केहीले विपक्षमा’, एक पदाधिकारी भन्छन् ।

ती पदाधिकारीका अनुसार आफ्नो कुरा राखेकै कारण निष्कासनकै कारबाही गरिन नहुने अडान राख्ने नेताहरु पनि ठुलै संख्यामा थिए । स्पष्टीकरणसम्म ठीकै भएपनि निष्कासन र निलम्बन जस्ता चर्को निर्णय लिन नहुने अडान राख्नेमा सात पदाधिकारी थिए ।

ती पदाधिकारीका अनुसार उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले निस्कासनको निर्णयमा जान नहुने तर्क राखेका थिए ।

रावललाई निस्कासन गर्न हुँदैन भन्ने मत सचिव गोकर्ण बिष्टले पनि राखेका थिए । ‘तीन उपाध्यक्ष र गोकर्ण कमरेडले निलम्बन गर्ने र निस्कासन गर्ने निर्णयको विपक्षमा कुरा राख्नुभयो’, ती पदाधिकारीले भने, ‘विन्दा पाण्डे र उषाकिरण तिमल्सेनालाई निलम्बन नगरौं भन्ने अरु नेताहरु पनि थिए ।’

उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, र योगेश भट्टराईले पनि निलम्बन गर्न नहुने मत राखेका थिए ।

‘उहाँहरुले जुन विषयमा अहिले स्पष्टीकरण प्रक्रिया चलिरहेको छ, कारबाही प्रक्रिया बढाउँदा राम्रो सन्देश जाँदैन भन्ने कुरा राख्नुभयो । तर पार्टीलाई अनुशासनमा राख्न कार्बाही गर्र्नुपर्छ भन्नेहरु पनि देखिनुभयो’ अर्का एक पदाधिकारी भन्छन्, ‘पक्ष र विपक्षमा विभाजित भएर होइन कि आ–आफ्ना हिसाबले कुरा राख्ने काम भयो ।’

उनका अनुसार अरु पदाधिकारीले पनि बोलेका थिए । तर कारबाही गर्ने वा नगर्ने भन्नेमा प्रष्ट कुरा थिएन ।

अन्ततः अध्यक्ष केपी शर्मा ओलीले रावललाई निष्कासन गर्ने र पाण्डे र तिमल्सेनालाई निलम्बनको निर्णय लिए । यी नेताहरुले ब्यापारी मीन गुरुङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने पार्टीको निर्णयमा फरक मत राखेका थिए ।

तर पार्टीको निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै गत ४ कात्तिकमा तीनै जनालाई स्पष्टीकरण सोधिएको थियो । १२ कात्तिकमा पाण्डे र तिमल्सेनाले स्पष्टीकरणपत्र बुझाएका थिए ।

त्यो स्पष्टीकरणपत्र चित्तबुझ्दो नभएकाले निलम्बनको निर्णय लिइएको एमालेले जनाएको छ ।
@onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP