मंगलबार , बैसाख २९, २०८३

नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने निश्चित भएको छ । यसअघि उनको उमेरसम्बन्धी विवादले संसय पैदा भएको थियो ।
सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरेर सेनाले पहिलो पटक रथी सिग्देलको उमेर विवादबारे प्रस्टीकरण दिदै कुनै विवाद नरहेको जनाएसँगै उनी प्रधानसेनापति बन्ने निश्चित भएको हो ।

रथी सिग्देलको २०४० सालमा रुपन्देहीबाट जारी भएको नागरिकता र २०५८ सालमा जाजरकोटबाट जारी भएको पहिलो प्रतिलिपिमा उल्लेख भएका सबै विवरण एउटै भएको सेनाको दाबी छ ।नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदैछ । त्यसपछि रथी सिग्देल प्रधान सेनापति बन्दै छन् ।

सिग्देल उपरथीबाट रथीमा बढुवा भए लगतैदेखि उनको उमेरलाई लिएर विवाद सिर्जना भएको छ । उनी रथीमा बढुवा हुनुअघि उपरथी ताराध्वज पाण्डे पनि रथीमा सिफारिस भएका थिए । तर उनको नागरिकतामा कीर्ते गरेको आरोप लागेको थियो । आरोपपछि पाण्डेले पदबाट राजीनामा दिए ।

उनको राजीनामा पछि रोलक्रम अनुसार सिग्देल रथीमा बढुवा भएका थिए । ‘अशोक जरसाबको विषयमा उहाँको तत्कालीन जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट २०४० साउन २९ गते लिएको नागरिकता म देखाउन चाहन्छु,’ केसीले सिग्देलले लिएको पहिलो नागरिकता देखाउँदै भने । उक्त नागरिकतामा सिग्देलको उमेर १७ वर्ष भनेर उल्लेख गरिएको बताए । त्यस्तै २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि लिएको उनले बताए ।

‘पहिले जारी भएकै नागरिकताको प्रतिलिपि लिनु भएको थियो । जसमा रूपन्देहीबाट जारी भएको विवरण कुनै पनि फरक नपरेको देखिन्छ,’ उनले भने । दुबै नागरिकतामा एउटै नागरिकता नम्बर र जारी मिति रहेको उनले बताएका छन् । सेनाले रथी सिग्देलको एसएलसीको प्रमाणपत्र पनि सार्वजनिक गरी त्यही जन्ममिति रहेको बताएको हो ।

‘एसएलसीको प्रमाणपत्रमा जन्ममिति २०२३–१०–१९ नै छ । जुन २०४० साल भदौ २९ गते जारी भएको थियो । अर्को २०४३ भदौ १२ मा सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको प्रमाणपत्र छ,’ उनले थपे, ‘त्यसमा पनि २०२३–१०–१९ नै छ । यसको अवाला नेपाली सेनामा भर्ना हुँदा पनि उहाँले यही नागरिकता र यही प्रमाणपत्र पेश गरेर भर्ना भएको पनि जानकारी गराउन चाहन्छु ।’ २०८० मंसिरमा सिग्देलको नागरिकतासम्बन्धी विवाद आएपछि रूजु गरेरै पदोन्नति गरेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP