आइतबार , असार १४, २०८३

नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले चिनियाँ परियोजना बीआरआई ऋणको रुपमा स्वीकार गर्न नहुने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीआरआई परियोजनालाई श्रीलङ्काले ऋणको रुपमा स्वीकार गर्दा बन्दरागाह नै चीनको कब्जामा गएको बताए । उनले नेपालले बीआरआई परियोजनालाई ऋणको रुपमा स्वीकार गरेको खण्डमा ऋण तिर्न नसक्ने बताए । नेपालले ऋण तिर्न नसक्दा चीनले हिमाली भू–भाग कब्जा गर्ने डा. दीक्षितको भनाइ छ ।

‘अब त कम्युनिष्ट सरकार छ । चाइनाका मान्छे आएकाआयै छन् । भारतसँग हाम्रो पारिवारिक सम्बन्ध छ, तिमीसँग पनि घनिष्ट मित्रता छ भने हामीलाई किन ऋणमा डुबाउँछौं भन्न सक्नुपर्यो ।’ उनले भने, ‘हामीले ऋण लिन हुँदैन । लियो भनेदेखि, श्रीलङ्काले बन्दरगाहनै गुमायो । हामीले हिमालय बेल्ट गुमाउँछौं । तिर्न नसकेपछि त्यसको बापत केही लिन्छ, जग्गा लिन्छ । पूरै एभरेष्ट जान्छ । त्यसको परिकल्पना हामीले गरेका छैनौं । यस्तो परिस्थिति आउन सक्छ ।’

चीनले नेपाललाई ऋण नभएर सहयोग गर्नुपर्ने उनले बताए । चीनलाई छिमेकी राष्ट्रको हिसाबले ठूलो सहयोग गरेको दाबी गर्दै उनले नेपाल सहयोग लिनका लागि हकदार रहेको बताए । तर, बीआरआई परियोजनालाई ऋणको रुपमा भने स्वीकार गर्न नहुने उनको अडान छ ।

‘वान चाइना पोलिसी नेपालले स्वीकार गर्यो । सहर्स मान्यो, यहाँ टिबेटिएनहरुलाई हामीले क्याम्पमा राखेका छौं । दलाइ लामाको बर्थडे पनि हामी मान्न दिँदैनौं । त्यतिसम्म हामीले चाइनालाई सहयोग गरेका छौं । हामीले चाइनालाई गर्नुसम्म सहयोग गरेका छौं । चाइनाले हामीलाई ऋण दिने होईन, सहयोग गर्नुपर्यो,’– उनले भने ।

साथै, नेपालले चाइना र भारतलाई आपसमा भिडाउन नहुने उनको भनाइ छ । चाइना र भारतका बीचमा नेपाल पुल बनेर काम गर्न सक्नुपर्ने बताए । उनले नेपालको विदेश नीति एकदमै कच्चा रहेको टिप्पणी गरे । सरकार परिवर्तन भएसँगै व्यक्तिअनुसारको नीति हुने भन्दै उनले अहिले प्रचण्ड नीति रहेको टिप्पणी गरे । चाइनाले बीआरआई परियोजना अगाडि बढाउन नेपाललाई दवाब दिइरहेको पनि उनले खुलासा गरे ।

‘चाइनाले बीआरआईमा तत्काल अगाडि बढ भनेको छ । यो यस्तो खतारनाक कुरा छ, हामीले चाइनासँग अहिले ऋण लिएर अगाडि बढ्यौं भनेदेखि हामी त्यो ऋण तिर्न सक्दैनौं । हरेक नेपालीले बुझ्नुपर्यो भइराखेको ऋण पनि तिर्न सकिरहेका छैनौं,’– उनले भने ।

साथै, वर्तमान सरकारको काम कारबाहीबारे टिप्पणी गर्दै डा.दीक्षितले अहिले इतिहासकै सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको आरोप लगाए । डा. दीक्षितले अहिलेको जस्तो भ्रष्टाचार पञ्चायत कालमा पनि नदेखिएको दाबी गरे । गृहमन्त्री, प्रधानमन्त्रीले एकदमै सुशासन दिएको छौं भनेपनि यथार्थतामा त्यस्तो नरहेको बताए ।

डा.दीक्षितले भ्रष्टाचार नियन्त्रण गर्न सहकारी ठगी प्रकरणमा रवि लामिछानेको मुद्दा, गिरीबन्धु टी स्टेट, कञ्चनपुरको जग्गा, भुटानी शरणार्थी प्रकरण, माओवादी मुछिएको सुनकाण्ड, जनमुक्ति सेना सम्बन्धि क्यान्टोनमेन्ट घोटला र ललिता निवास जग्गा प्रकरण पहिला क्लियर हुन आवश्यक रहेको बताए । उनले गृहमन्त्री लामिछानेले यी प्रकरणको फाइल खोलेर देखाउन चूनौती दिए ।

त्यसैगरी, नेकपा (एमाले) का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महिला मन्त्रीमाथि अट्याक गरेको भन्दै उनले आपत्ति जनाए । रास्वप सांसद एवं शिक्षा विज्ञान प्रविधिमन्त्री सुमना श्रेष्ठबारे ओलीले दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले भने, ‘ओलीजी सबैभन्दा ठूलो घटक उहाँ बजेटको विषयलाई लिएर उफ्रिरहनु भएको छ । त्यसमाथि महिला मन्त्रीलाई अट्याक गर्नुहुन्छ ।’

साथै, रास्वपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता अन्तैबाट चलेको छ भनी अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए । सरकार कहाँबाट चलेको हो ? भन्ने कुरा जनतालाई थाहा दिनुपर्ने उनको माग छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष जो गृहमन्त्री हुनुन्छ, उहाँले सत्ता अन्तैबाट चलेको छ भन्नुभयो । देशभित्रबाट कि देश बाहिरबाट ? उहाँले सत्य बोल्नुपर्यो । देशभित्रबाट हो भने उहाँले कुरा चपाउन भएन, बताउन पर्यो । देश बाहिरबाट भनेको भए कसलाई इङ्कित गरेको ? उहाँले चाइनालाई इङ्कित गर्न खोजेको हो त ?’ प्रश्न गर्दै उनले भने, ‘इन्डिया त अवस्य होईन । आज इन्डियासँग त सरोकार नै छैन । यो कम्युनिष्ट सरकारको । उपप्रधानमन्त्री भन्छन्, सत्ता हाम्रो हातमा छैन । हामी नेपालीले के सम्झिने ? हामी सार्वभौम सत्ताका मालिक भन्थ्यौं । त्यो त देखिएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP