मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा आफूहरुले दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्ने चाहेको बताए । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा संलग्न जोसुकै पनि छानविनको दायरामा आउनुपर्ने बताए । उनले वर्तमान गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोर्खा मिडियामा सहकारीको अर्बौं रकम अपचलन भएको बताउँदै त्यसमा संलग्न जोसुकैलाई पनि कारबाही गरिनुपर्ने बताए ।

‘जसले बद्मासी गरेको छ, त्यो व्यक्ति नउम्कियोस, जो निर्दोष छ, त्यो नफसोस् भन्ने हाम्रो चाहना छ । हामी पूर्वाग्रही दृष्टिकोणले यसलाई फसाउनै पर्छ, यसलाई बचाउनै पर्छ भनेर कोही पनि प्रस्तुत हुँदैनौं । सहकारी ठगी सम्बन्धमा वर्तमान गृहमन्त्रीको नाम मुछिएको छ भनेर विभिन्न ठाउँबाट सूचना आएका छन् । प्रमाणहरु पनि पाइएको छ । गोर्खा मिडिया नेटवर्कका अर्बौं पैसा कानुनलाई अपचलन गर्ने काम भयो । यसमा जो–जो संलग्न छन्, कानुनको दायरामा ल्याउनुपर्छ । जसले ठगी गरेको छ, ठगलाई जनताको बीचमा ल्याएर जनताको सम्पत्ति जनतालाई नै फिर्ता गर्ने वातावरण बनाउन पर्छ । छानविन समितिले जस्ताको तस्तै रिपोर्ट दिन्छ भन्ने हामीले विश्वास लिएका छन्,’– उनले भने ।

साथै, सोही प्रकरणमा गृहमन्त्री लामिछानेले अशोभनीय प्रस्तुती दिएको उनको भनाइ छ । उनले गृहमन्त्री लामिछानेलाई ‘बदनाम मान्छे’ को संज्ञा दिए । ‘संसद्माबोलेको हिसाब गर्दाखेरी एउटा बद्नाम मान्छे पनि त्यसरी प्रस्तुत होला जस्तो हामीलाई लागेको थिएन । केही व्यक्तिहरुको अभिव्यक्ति सुन्दाखेरी हामीलाई त्यस्तो लाग्यो,’– उनले भने ।

साथै, गिरीबन्धु टि स्टेट प्रकरणमा तत्कालीन सरकारको क्याविनेटमा रहेका मन्त्रीले नै भ्रष्टाचार भएको भनिसकेको उनको भनाइ छ । तत्कालीन मन्त्री चक्रपाणि खनालले दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले सर्वोच्चको फैसला कार्यान्वयन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्ने बताए ।

‘गिरीबन्धु टि स्टेटको बारेमा तत्कालीन प्रधानमन्त्री को हुनुहुन्थ्यो मैले विर्सिएँ । हिजोअस्ती एक जना नेकपा (माओवादी केन्द्र) बाट मन्त्री हुनुभएको खनालजी हुनुहुन्थ्यो । उहाँ पहिला प्रधानमन्त्रीको सल्लाहकार पनि हुनुहुन्थ्यो । उहाँले एउटा अभिव्यक्ति दिएको तपाईँकै मिडियामार्फत सुने मैले । मलाई हटाएर त्यही कामको लागि अर्को मन्त्री नियुक्ति गरिएको हो । मलाई नै गर्नु भनेको थियो, मैले मानिँन । भनेर उहाँले भन्नुभएको छ ।’ उनले भने, ‘यो हेर्दाखेरी पनि त्यतिखेर सरकारमा बस्नेहरु आफूलाई फाइदा हुने, समग्र मुलुकलाई घाटा हुने प्रकारले यो काम गरेको देखिन्छ । सर्वोच्चले नै यो नीतिगत भ्रष्टाचार हो भनेपछि त्यो फैसला कार्यान्वयनको चरणमा जानुपर्छ । को दोषी छ ? म त्यहाँ जान चाहन्न । जोसुकै दोषी होस्, त्यसले कारबाही भोग्नुपर्छ । कसैलाई गाली गरेर उम्किन पाइँदैन ।’

देशको राष्ट्रिय राजनीतिमा च्याँखे पार्टीहरु हाबी हुनथालेको उनको भनाइ छ । उनले आफूले भनेको नभएदेखि घुर्की लगाउने, धम्काउने र तर्साउने काम भइरहेको बताए । यस प्रकारको पद्धतिको विकासले राजनीतिक स्थायित्व नहुने बताए । उनले भने, ‘ठूला दलले जनताका बीचमा गएर काम गर्नुपर्ने, स्थिरता दिनुपर्नेमा च्याँखेहरु हाबी हुनथाले । च्याँखे पार्टीहरु हाबी हुनथाले । नभएदेखि म छोड्दिन्छु, घुर्की लगाउने, तर्साउने र खाने । अरुलाई देख्लास्, पख्लास् भन्ने आफू त्यो भन्दा बढी बद्मासी गर्ने पद्धतिको विकास हुनथाल्यो । यसले राजनीति स्थिरताको बाटोमा जाँदैन । प्रतिशोधको राजनीति गर्ने, आफूलाई रिस उठेका मान्छेलाई सकिहाल्नुपर्ने । यो पद्धतिले देश बन्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP