मंगलबार , बैसाख २९, २०८३

सत्तारुढ घटक एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला निराधार भएको निर्णय सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको भोलिपल्ट (सोमबार) बोलाइएको संसदीय दलको बैठकले हल्लाको पछाडि नलाग्न आग्रह समेत गरेको छ ।

‘… संसदीय दल सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ’, प्रमुख सचेतक मेटमणि चौधरीले जारी गरेको वक्तत्वमा भनिएको छ ।

उपेन्द्र यादव सत्ता गठबन्धन परिवर्तन गर्न लागेको भन्दै अशोक राईसहित सात सांसदले जसपा विभाजित गरेकाले एकीकृत समाजवादी समेत फुट्न सक्ने आशंका गरिएको थियो । किनकि यो सत्ता समीकरणको आयुबारे यो दलका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै चर्को टिप्पणी गर्दै आएका थिए ।

उनले सत्ता समीकरण फेरिनसक्ने आशयसहित लगातार अभिव्यक्ति दिनुको पछाडि उपेन्द्रले आफ्नो साथ नछोड्ने विश्वास लुकेको थिएन । किनभने विभाजन हुनुअघिको जसपा र एकीकृत समाजवादीको निर्णयले नेकपा एमाले नेतृत्वको वर्तमान सत्ता समीकरण अल्पमतमा पर्न सक्थ्यो ।

तर अल्पमतको खतरा टार्न सत्ताकै सहयोगमा सत्तारुढ दल नै फुटाइएको ब्रिफिङ सांसदहरुसँग अध्यक्ष नेपालले गरेका छन् । ‘जसपा विभाजनको मुख्य डिजाइनर केपी ओली हुन्, त्यसमा प्रचण्डले साथ दिनुभयो’, नेपालले भनेका थिए ।

‘एकीकृत समाजवादीको मनोविज्ञान कमजोर बनाउने डिजाइनमै जसपा फुटाइएको ब्रिफिङ अध्यक्षले सुनाउनुभयो’, बैठकमा सहभागी एक सांसदले भने । उनका अनुसार, दलका नेता एवं अध्यक्ष नेपालले जसपा विभाजन गैरकानुनी भएको समेत बताएका थिए ।

‘ठूला दलहरु तोडफोडमा (अरु दल फुटाउन) लाग्यो, कानुनको मतलव गर्न छोड्यो । दायित्वबाट भाग्यो, यस्तो अवस्थामा हामी जिम्मेवार भएर अगाडि बढ्नुपर्छ’, अध्यक्ष नेपालको भनाइ थियो ।

सांसदहरुको कुरा सुनेपछि माधव नेपालले सार्वजनिक टिप्पणी भइरहेजस्तो अर्को समीकरण बनाउन सक्रिय नभएको पनि बताए ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेको कुरालाई नै आधार मानेर अर्को समीकरण बनाउन सक्रिय भएको आरोप लगाउनु गलत भएको अध्यक्ष नेपालको तर्क थियो ।

‘सुदूरपश्चिमको नेतृत्व हामीले पाउने सहमति थियो, त्यसबाट ओली र प्रचण्ड पछाडि हटेकाले देउवासँग भेटेको हो । अर्को सरकार बनाउन भनेर बाहिर भनेजस्तो होइन’, अध्यक्ष नेपालले भनेका थिए ।

देउवा र उपेन्द्रसँग नयाँ समीकरण बनाउन सक्रिय भएको आरोप लगाएर आफूलाई अपमानित गर्न खोजिएको पनि अध्यक्ष नेपालको प्रष्टोक्ति थियो । ‘गठबन्धनमा सहअस्तित्वको कुरा गरिरहेका छौं, तर हामीलाई अपमान गर्न आरोपहरु लगाइदैछ’, अध्यक्ष नेपालको भनाइ उदृत गर्दै अर्का सांसदले भने ।

सँगै अध्यक्ष नेपालले पार्टीको एकताबारे पनि चलाइएको हल्ला चिर्न साझा प्रतिवद्धताको प्रस्ताव गरेका थिए । ‘हल्ला चलेपछि सबै सांसद एकताबद्ध रहेको प्रतिबद्धता गरेका छौं’, उपमहासचिव प्रकाश ज्वालाले भने ।

सांसदहरु एकताबद्ध रहने प्रतिवद्धता बैठकबाट गरिनुमा पार्टी विभाजनको आशंका चिर्नु नै हो । ‘कानुनी रुपमा पनि एकीकृत समाजवादी फुट्न मिल्दैन । तर आशंका भएकाले एकताबद्ध रहने प्रतिबद्धता गरेका हौ’, उपाध्यक्ष बेदुराम भुसालले बताए ।

नेताहरुका अनुसार, प्रधानमन्त्री प्रचण्ड र सत्ता समीकरणप्रति असन्तुष्टि रहेपनि अहिलेको सत्ताकै पक्षमा उभिने निष्कर्ष समेत बैठकले निकालेको छ । ‘गठबन्धनमा केही समस्या भयो भने छलफल गरेर टुंगो लगाउनुपर्छ, तर अहिले फरक ढंगले सोच्नु हुँदैन भन्ने भयो’, उपमहासचिव ज्वालाले भने ।

अहिलेको परिस्थितिमा सत्तारुढ गठबन्धनकै पक्षमा उभिने निष्कर्ष बैठकले निकालेपनि अध्यक्ष नेपालले भने यो समीकरणमा अझै विश्वासको वातावरण नरहेको आशय सुनाएका छन् । ‘प्रचण्डको मनोविज्ञान अस्थिर छ, उनले नै यो समीकरणलाई धेरै अगाडि लैजान नसक्लान् । त्यस्तो अवस्थालाई ध्यान दिएर हामीले निर्णय गर्नुपर्छ भन्ने अध्यक्षको कुरा छ’, प्रमुख सचेतक चौधरीले भने ।

सत्ता गठबन्धनका एक नेता भने जसपा विभाजनपछि माधव नेपाल अलमलिएको बताउँछन् । ‘उपेन्द्रको पार्टी फुटेपछि अर्को समीकरण तत्काल बन्ने देखिँदैन, तर अहिलेको समीकरणमा उहाँको असन्तुष्टि छ । त्यसो हुँदा उहाँमा अलमल देखियो’, ती नेता भन्छन् ।

यस्तो अलमलबीच पार्टी एकता जोगाउनुपर्ने चुनौती भएकाले कांग्रेस सभापति देउवासँग कुरा नभएको प्रष्टोक्ति दिनुपरेको उनको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP