शनिबार , भाद्र १३, २०८३

पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सानेपामा शुरू भएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको लिखित र मौखिक चेतावनीबीच ‘मिनी महाधिवेशन’कै झल्को दिनेगरी शुरू भएको भेलाबाट मूलतः तीन सन्देश दिने प्रयास देखियो- एमालेको इतिहास, संगठन र विचारमाथि दाबी ।

सहभागीहरूको मापदण्ड निर्धारण, राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल र निर्णय लिनेगरी आयोजित भेलाबाट संगठनको तयारीसँगै एमालेको असली हकदार दाबी गर्ने प्रयास यो समूहले गरेको छ । ‘पार्टी र राज्य सत्ताको नेतृत्व गरिरहेका केपी ओलीसँग होइन, एमालेको इतिहास, वर्तमान र भविष्य माधव नेपालहरुसँग छ भन्ने कुरा यो भेलाबाट प्रष्ट पारेका छौं’, नेपाल निकट नेता वेदुराम भुसाल भन्छन् । ओलीसँग उनका सीमित अनुयायी मात्रै बाँकी रहेको तथ्य यो भेलाबाट पुष्टि हुने उनको दाबी छ ।

यो पनि पढ्नुस्
सबै समस्याको जड केपी ओलीको अहंकार र व्यक्तिवाद : माधव नेपाल
नेपाल समूहको भेलालाई गम्भीरतापूर्वक लिएका छौं : ईश्वर पोखरेल
ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लगे : झलनाथ खनाल
मञ्चमा अग्रजहरू

एमाले अध्यक्ष ओलीसँग २०७१ को नवौं महाधिवेशनमा अध्यक्ष पदमा पराजित नेपाल यो समूहका प्रमुख नेता हुन् । तर सानेपा भेलाको आकर्षण भने पुराना नेताहरू बने । राष्ट्रिय राजनीति र पार्टी जीवनले खोजखबर गर्न छोडेका मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, राधाकृष्ण मैनालीहरुलाई भेलाको आकर्षण बनाउने प्रयास गरिएको थियो ।

जीवित कम्युनिष्ट नेताहरुमध्ये सबैभन्दा पुराना सिंहलाई भेलामा सम्बोधन गर्ने अवसर दिइयो । मनमोहन अधिकारी, भरतमोहन अधिकारी, सहाना प्रधानहरु सँगैका सिंहले सात वर्षअगाडि सक्रिय राजनीतिबाट संन्यास लिएका थिए । सिंह र कोइराला नेकपा (मार्क्सवादी) पृष्ठभूमिका मात्रै नभएर पुष्पलालका ‘एक्का’ भनेर चिनिने नेता हुन् । एमाले विभाजन उन्मुख भइरहँदा नेता नेपालले नयाँ पुस्ताले राम्रोसँग नचिन्ने, तर पार्टी निर्माणको नेतृत्वकर्तालाई सम्झनुको उद्देश्य भने एमाले इतिहासमाथि दाबी नै हो ।

यसलाई नेपाल निकट नेताहरु अस्वीकार गर्दैनन् । ‘एमाले निर्माण गर्ने हरेक आन्दोलनका नेताहरु हामीसँग हुनुहुन्छ । झापा आन्दोलन, कोर्डिनेसन केन्द्र, सन्देश समूह, हर्रेबर्रेदेखि मुक्ति मोर्चाका नेतृत्वको साथ छ’, नेता भुसाल भन्छन् ।

वरिष्ठताका आधारमा झलनाथ खनालको अध्यक्षता गरेको भेलाबाट नेपालले सकेसम्म झापा आन्दोलनका नेताहरु मञ्चमा देखाउने प्रयास गरे । झापा विद्रोहकै कारण १७ वर्ष जेल बसेका नेताहरु मोहनचन्द्र अधिकारी, नरेश खरेल र घनेन्द्र बस्नेत सँगै मुकुन्द न्यौपानेलाई नेपालले आफूसँगै उभ्याए । झापामै राजनीति गरेका अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहोरा अनि विभिन्न आन्दोलनबाट एमाले बन्न पुगेका नेताहरु पनि उनले उभ्याएका थिए ।

मदन भण्डारी र जीवराज आश्रितसँग लिगेसी जोडिएका मोदनाथ प्रश्रित, हर्रेबर्रे समूहका केशरमणि पोखरेल, सन्देश समूहका नेत्र पौडेल, शिक्षक आन्दोलनका अगुवा बद्री खतिवडादेखि किसान आन्दोलनका नेता सिद्धिलाल समेटेर नेपालले एमालेको इतिहासमाथि दाबी पेश गर्न खोजेका छन् । नेपाल समूहका पदाधिकारीहरू अन्य भूमिकामा खटिएका थिए । यो समूहका नेताहरु, ओलीसँग कोर्डिनेसन केन्द्रसँग जोडिएका ईश्वर पोखरेल र नारद वाग्ले मात्रै रहेको दाबी गर्छन् ।

संगठनमा पकड !

नेपाल समूहले राष्ट्रिय भेलामार्फत एमालेको संगठनमा आफ्नो पक्षको पकड रहेको दाबी गरेका छन् ।

केन्द्रीय कमिटी, केन्द्रीय निकाय, सम्पर्क मञ्च, प्रदेश, जिल्ला र जनसंगठनका अगुवा कार्यकर्ता बोलाइएको भेलामा २५०० सहभागी हुने अनुमान गरिए पनि चार हजार सामेल भएको दाबी नेपाल समूहले गरेको छ । भेलापछि प्रचार प्रमुख योगेश भट्टराईले सहभागिता उत्साहजनक भएको बताए ।

सर्वोच्च अदालतबाट पुनःस्थापित एमालेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोमा बहुमत रहेको दाबी गर्दै आएको यो समूहले केन्द्रीय कमिटीमा पनि हाराहारी रहेको बताउने गरेको थियो । तर मातहतको संगठनमा कमजोर नभएको पुष्टि भेलाले गरेको केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन् । ‘पार्टी सत्ता र सरकारको नेतृत्व गरेकाहरुले चुनौती दिएका थिए । तर, जुन संख्यामा सहभागिता भयो यसले एमालेको संगठनमा बलियो पकड रहेको पुष्टि भयो’, उनी भन्छन् ।

२८ फागुनमा आफू इतरलाई भूमिकाविहीन बनाउने ओलीको निर्णयपछि समानान्तर गतिविधि शुरु गरेको नेपाल समूहले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना कायम हुनुपर्ने अडान लिंदै आएको छ । २ चैतमा धुम्बाराहीमा भएको ओली समूहसँगको वार्तामा पनि २३ फागुन पछाडि गरिएको निर्णय खारेजीको अडान लिएको थियो । तर, ओलीले भइसकेको निर्णय फिर्ता नहुने बताएपछि यो समूहले समानान्तर गतिविधि गर्दै राष्ट्रिय कार्यकर्ता भेला शुरु गरेको छ ।

सिद्धान्तमाथि दाबी

माओवादी केन्द्रसँग एकता गरेर ओलीले एमाले र एमालेले मार्गदर्शक सिद्धान्त मान्दै आएको जनताको बहुदलीय जनवाद (जबज) सिध्याएको यो समूहका नेताहरुले आरोप लगाउँदै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद हुँदा पनि यो समूहका नेताहरुले ओलीलाई पदका निम्ति जबज र एमाले विघटन गरेको आरोप लगाउने गरेका थिए ।

यो भेलाबाट पनि जबजको असली हकदार दाबी पेश गर्ने तयारी गरेको देखिन्छ । एक नेताका अनुसार, भेलाले ओलीले पार्टी जीवन र सैद्धान्तिक कार्यक्रममाथि कसरी हमला गरे भन्ने पुष्टि गर्नेछ ।

समानान्तर संगठन र गतिविधिको रुपरेखा नै कोर्ने गरी शुरू भएको यो भेला पार्टी विभाजनका लागि नभएको नेपाल समूहका नेताहरु दाबी गर्छन् । ‘एमालेको संगठन, सिद्धान्त र कार्यकर्ताको संरक्षण हुन्छ/गरिन्छ भन्ने सन्देश भेलाबाट दिन्छौं । पार्टीभित्र हुने दमन र गुटगत लडाइँको डटेर सामना गर्न तयार हुन्छौं’, स्थायी कमिटी सदस्य रघुजी पन्त भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP