
पूराखबर – कलाकार विनोद अधिकारीका सिर्जनाहरु केहि समयपछि सार्वजनिक गर्ने गरि तयारि भैरहेको छ । यतिबेला अधिकारीका तीनवटा गीतहरु राजधानीको एम.बी.म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङको काम सम्पन्न भैसकेको छ भने दुईवटा गीतको छायांकन समेत भैसकेको अधिकारीले जानकारी दिए ।
केहि समय अगाडी शिव परियारको स्वरमा रहेको “मुखमा रामराम बगलीमा छुरा” बोलको म्युजिक भिडियो काठमाण्डौ लगायत ललितपुरका विभिन्न रमणीय ठाउँहरुमा छायांकन भएको छ । उक्त गीतमा विनोद अधिकारीकै मुख्य भुमिका छ भने उनलाई अहिलेकी चर्चित अभिनेत्री आयुष्मा कार्की र रबिन पोख्रेलले साथ दिएका छन ।
विपिन आचार्यकै कथा अनि निर्देशनमा चर्चित क्यामराम्यान दुर्गा पौडेलको छायांकन रहेको उक्त गीतको सम्पादन अहिलेका चर्चित सम्पादक विकास ज्ञवालीले गरिरहेका छन्, गीत केहि दिनमा सार्वजनिक हुने छ ।
अधिकारीकै शब्द रचनामा रहेको उक्त गीतमा विपिन आचार्यको संगीत अनि एरेन्ज रहेको छ । चोखो मायामा हुने धोका र विश्वासघातमा आधारित वियोगान्त शब्दहरु समेटिएको छ ।
नेपालका विभिन्न कलेजहरुमा अध्यापन गराउनुका साथै स्नातक तहदेखि विविएस सम्मका लेखा पुस्तक श्रृंखलाका लेखक समेत रहेका अधिकारी विगत सात वर्षदेखि अष्ट्रेलियाको डर्बिनमा श्रीमती सीता पन्त अधिकारी र दुई छोराहरु शुभान्जन र विमोचन अधिकारीका साथमा बस्दै आइरहेका छन ।
सानैदेखि गीत संगीत, साहित्य र समाज सेवामा रुचि भएका अधिकारीका कथा कविता अनि लेखहरु विभिन्न प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित भएतापनि गीत भने रेकर्डिङ गर्ने चाँजोपाँजो नमिलेको उनको भनाई छ । अहिले आएर आफ्नै जन्मभुमि भक्तपुरका विभिन्न ठाउँहरु समेटेको गीतमा आफ्नै स्वर समेत दिएका छन । सधै सक्रिय अनि लगनशील तथा केहि नयाँ काम गर्ने इच्छाशक्ति भएका अधिकारी एक क्षमतावान साहित्य अनि संगीतानुरागी व्यक्ति हुन ।