शनिबार , भाद्र १३, २०८३

नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते (फेब्रुअरी ३ देखि ५ तारिख) सम्म चितवनमा हुनेछ । सम्मेलनमा एसियामा गैँडा पाइने देश नेपाल, भारत भूटान, मलेसिया र इण्डोनेसियाका सम्बन्धित सरकारी प्रतिनिधि, गैँडा संरक्षणमा काम गर्ने साझेदार संस्थाहरू, सरोकारवाला विशेषज्ञ समूहलगायतको सहभागिता रहनेछ । यस्तो सम्मेलन यसअघि पहिलो पटक इण्डोनेसियमा र त्यसपछि भारतमा भइसकेको छ ।

गैँडा संरक्षणमा देखिएका समस्याहरू, गैँडाको बासस्थानको क्षयीकरण, खण्डीकरण र विनाश, चोरी शिकार र अङ्गको अवैध व्यापार, जलवायुजन्य जोखिमको समाधान, गैँडाको जलवायु अनुकूलन गर्ने क्षमतालगायत विषयमा सम्मेलनमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

यस बाहेक गैँडा र मानवबीचको द्वन्द्व समाधान, स्थानीय समुदाय र निजी क्षेत्रलाई गैँडालाई आर्थिक उपार्जनको माध्यम पर्यापर्यटनबाट कसरी जिविकोपार्जनमा टेवा पुर्याउन सकिन्छ भन्ने सम्बन्धमा असल अभ्यासको आदानप्रदान गरिने विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिए ।

सम्मेलनमा गैँडा संरक्षणका लागि प्रविधिको प्रवर्द्धन, गैँडाको बासस्थानलाई सुरक्षित गर्ने, द्वन्द्व व्यवस्थापन गर्ने, जलवायु उत्थानशीलता बढाउने विषय र जनचेतना बढाई स्थानीय र राष्ट्रिय समृद्धिमा टेवा पुर्याउने उद्देश्य राखिएको छ । यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको जैविक विविधताको पहिचानलाई अझ उच्च र चम्किलो बनाउने उद्देश्य रहेको डा.ढकालले बताए ।

सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्रीबाट उद्घाटन गर्ने गरी तयारी गरिएको छ । उद्‍घाटनपछि प्राविधिक सत्रमा सम्बन्धित देशका गैँडाको अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछन् । केही विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र त्यसपछि अहिलेसम्मको समीक्षा गरी आगामी दिनमा गर्नुपर्ने रणनीतिका बारेमा छलफल गरिने विभागका इकोलोजिष्ट डा.गणेश पन्तले जानकारी दिए ।

त्यसपछि सम्मेलनमा चितवन घोषणापत्र सार्वजनिक गरिनेछ । सम्मेलन गैँडा संरक्षणको वर्तमान अवस्था, चुनौती र भावी व्यवस्थापन गर्ने लगायतका विषयमा केन्द्रित हुनेछ भने सम्बन्धित देशका सरकारी प्रतिनिधि र विज्ञसहित १०० भन्दा बढीको सहभागिता रहने डा.पन्तले बताए ।

नेपालमा गैँडाको अवस्था

संसारमा हात्तीपछिको सबैभन्दा ठूलो स्थलचर जीव गैँडा हो । हाल संसारमा रहेका गैँडाका पाँच प्रजातिमध्ये ठूलो एकसिङ्गे गैँडा नेपाल, भारत र भूटानमा पाइन्छ । संसारमा एकसिङ्गे गैँडाको सबैभन्दा धेरै सङ्ख्या भारतमा रहेको छ भने दोस्रो ठूलो सङ्ख्या नेपालमा रहेको छ ।

कुनै समय नेपालको सबै तराईका क्षेत्रमा विचरण गर्ने एकसिङ्गे गैँडा हाल चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा तिनीहरूको आसपासका वन क्षेत्रमा रहेका छन् । गैँडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो ।

नेपालमा प्रत्येक तीनदेखि पाँच वर्षको अन्तरालमा गैँडा गणना हुने गर्दछ । नेपालमा गैँडा गणना सन् १९८६ देखि हुन थालेता पनि नेपाली प्राविधिकहरूले आफैँ गणना गर्न थालेको सन् १९९४ देखि हो ।

यसअघि सन् २०००, २००५, सन् २००८, सन् २०११ र सन् १०१५ मा गैँडा गणना गरिएको थियो । सन् २००० मा गरिएको गणनामा नेपालमा छ सय १२, सन् २००८ मा चार सय ३५, सन् २०११ मा पाँच सय ३४ र सन् २०१५ मा छ सय ४५ वटा गैँडा पाइएको थियो । नेपालमा पछिल्लो समय गैँडा गणना २०७७ साल चैत ९ देखि २८ गते सम्पन्न भएको थियो ।

राष्ट्रिय गैँडा गणना २०७७ मा सङ्कलन भएका विवरणको विश्लेषणबाट नेपालमा प्राकृतिक बासस्थानमा सात सय ५२ एक सिङ्गे गैडा रहेको यकिन गरिएको छ । त्यसमध्ये वयस्क भालेको सङ्ख्या एक सय ४६ र पोथीको सङ्ख्या एक सय ९८ छ भने लिङ्ग पहिचान नभएको सङ्ख्या चार सय आठ छ । त्यस्तै वयस्क गैँडा पाँच सय २०, अर्ध वयस्क ९६ र बच्चा एक सय ३६ छन् ।

नेपालमा हाल सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैँडा रहेका छन् । सन् १९५० सम्म नेपालमा आठ सय गैँडा रहेको अनुमान गरिन्छ । तर १९६० को दशकमा घटेर करिब एक सय हाराहारीमा पुगेको थियो । सरकारले संरक्षणका लागि गरेको विभिन्न पहलसँगै गैँडाको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP