मंगलबार , बैसाख २९, २०८३

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा भाग लिएको नेकपा एमाले दोस्रो दलमा खुम्चिएको छ । ०७४ को चुनावमा जितेको भन्दा ४३ सिट कम अर्थात् ७८ सिट मात्रै जितेको एमालेले गठबन्धनका रहेका दलहरुसँग मिलेर पनि बहुमत जुटाउने सम्भावना छैन ।

अझ चुनावमा तालमेल गरेको दल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सहकार्य टुंगिएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । सरकारमा नजाने घोषणासहित चुनाव लडेको राप्रपाले नयाँ सरकार निर्माणबारे थप निर्णय लिएको छैन । राप्रपा र जसपाको समेत साथ नपाउने अवस्था भनेको राष्ट्रिय राजनीतिमा एमाले लगभग एक्लिनु नै हो ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका दलका नेताहरू निरन्तर सत्ता साझेदारीको भागबण्डामाथि छलफल गरिरहेका छन् । कांग्रेसभित्र संसदीय दलको नेता चयन प्रक्रिया चलिरहेकाले शक्ति बाँडफाँटबारे निर्णायक सम्वाद हुन बाँकी छ, तर जारी सम्वादलाई निष्कर्षमा पुर्याएर गठबन्धनकै नेतृत्वमा सरकार बनाउनेमा सत्तारुढ नेताहरु अडिग देखिन्छन् ।

एमालेका कतिपय नेताहरुले पनि प्रतिपक्षमा बस्ने जनादेश चुनावबाट पाएकाले सत्ता निर्माणमा चासो नरहेको बताउने गरेका छन् । तर उच्च स्रोतका अनुसार, नयाँ सरकार निर्माण र सत्ता साझेदारीबारे एमालेका नेताहरू सत्तारुढ दलका नेताहरु जत्तिकै सक्रिय छन् । ‘हामी चुप लागेर बसेका छैनौं, सबै पक्षसँग निरन्तर सम्वादमै छौं’, एमालेका एक पदाधिकारी भन्छन् ।

ती पदाधिकारीका अनुसार, एमाले नेताहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग समानान्तर छलफल गरिरहेका छन् । ‘अहिलेको गठबन्धन मुलुकको हितमा छैन । जनादेश पनि गठबन्धनको पक्षमा आएन’, ती पदाधिकारी भन्छन् । प्रत्यक्षतर्फ केही सिट बढी जितेर कांग्रेस पहिलो दल बनेपनि समानुपातिकतर्फ एमालेले लोकप्रिय मत पाएकाले सत्ता साझेदारीको हकदार आफूहरु भएको उनको तर्क छ ।

सरकार गठन प्रक्रियामा सहभागी हुन एमालेले अहिलेको सत्ता गठबन्धन भत्काउनमा जोड दिएको छ । त्यसका लागि कांग्रेस र माओवादी केन्द्रसँग समानान्तर प्रस्ताव लगेको छ, जसको केन्द्रमा राष्ट्रपति पदमा रहेको ती स्रोत बताउँछन् ।

राष्ट्रपति पद आफ्नो दललाई छोडेमा सरकार बनाउन सहयोग गर्ने प्रस्ताव दुवै दलमा एमाले नेताहरुले पुर्याएका छन् । पहिलो विकल्पमा भने कांग्रेससँगको सहकार्यलाई राखेको छ । अध्यक्ष ओलीले त चुनाव अगाडि नै कांग्रेस र एमाले मिलेर अगाडि बढ्ने अवस्था आउन सक्ने संकेत दिएका थिए । स्रोतका अनुसार अहिले एमाले नेताहरुले राष्ट्रपति आफ्नो दललाई छोड्न तयार भए कांग्रेसलाई सरकार बनाउन सहयोग गर्ने प्रस्ताव राखेका छन् । ‘तर राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने मनसायमा कांग्रेस देखिन्छ, एमालेका एक नेता भन्छन् ।

कांग्रेसलाई जस्तै माओवादी केन्द्रमा पनि एमाले नेताहरुले प्रस्ताव लगेका छन् । ‘प्रचण्ड कमरेडलाई प्रधानमन्त्री भएर केही गरौं भन्ने छ, हामी त्यो पूरा गरिदिन्छौं, मिलेर अगाडि बढौं भन्ने हो’, ती नेता भन्छन् । कांग्रेस गठबन्धन तोडेर प्रचण्ड आउन तयार भए सभामुखदेखि मुख्यमन्त्रीहरुमा समेत लचक हुने एमाले नेताहरुले सन्देश पुर्याएका छन ।

माओवादी केन्द्रसँग गठबन्धन गरेर ०७४ को चुनावमा भाग लिएको एमालेले त्यसबेला राष्ट्रपति र प्रधानमन्त्री दुवै पद राखेको थियो । माओवादी केन्द्रलाई उपराष्ट्रपति, सभामुख र ६ मध्ये २ प्रदेशमा मुख्यमन्त्री दिएको थियो । यसपटक त्यो भन्दा पनि चलक हुन एमाले तयार रहेको ती स्रोत बताउँछन् ।

यदि प्रचण्ड तयार भए वाम सरकारको प्रधानमन्त्री बनाउन एमालेले बहुमत जुटाउन सक्ने विश्वास पनि नेताहरुले दिएका छन् । त्यो भनेको राप्रपा र जसपाको समर्थन पाएमा फेरि पनि वाम सरकार बन्न सक्छ । एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राप्रपासँग १४, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० सिट छ ।

तर कांग्रेससँग आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमतिमा रहेका प्रचण्ड एमालेको प्रस्तावमा सहमत भइनसकेको माओवादीका एक पदाधिकारी बताउँछन् । ‘अहिलेको गठबन्धन भन्दा बाहिर गएर सरकार बनाउने अवस्था देखिँदैन, गठबन्धनभित्रैबाट सरकार बनाउन छलफल चलिरहेको छ’, माओवादी केन्द्रका ती पदाधिकारी भन्छन् ।

आलोपालो प्रधानमन्त्रीमा पहिलो कार्यकालको दाबी गरिरहेका प्रचण्ड, केपी ओलीसँग विश्वस्त नभएकैले एमाले नेताहरुको प्रस्तावमा सकारात्मक छैन । ०७४ मै ओलीसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा पार्टी एकता गरेपनि पछि धोका भएकाले प्रस्ताव आउँदैमा विश्वास गर्न नसकिने प्रचण्डले आफू निकट नेताहरुलाई बताउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP