सोमबार , बैसाख ८, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउनु पर्ने टुंगोमा पुगेको नेपाली कांग्रेसले समय परिपक्व हुन अझै एक साता लाग्ने निष्कर्ष निकालेको छ।

यसबारे बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा लामो छलफल भएको थियो।

‘प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा हामी पुगेका छौं, समय परिपक्व भने भइसकेको छैन,’ देउवानिकट एक नेताले सेतोपाटीसँग भने, ‘विकसित भइरहेका राजनीतिक घटनाक्रम र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्याबारे मसिनो गरी हिसाबकिताब गर्नुछ।’

अविश्वास प्रस्ताव पारित हुने गरी गृहकार्य गर्नु परेकोले केही ढिलाइ हुने ती नेता बताउँछन्। प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्न दलहरूको गठबन्धन बनाउनु पर्ने चुनौती कांग्रेससामु छ।

‘माओवादी केन्द्र थप प्रष्ट भएर आएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने अधिकार पार्टीले प्रचण्डलाई दिएको छ,’ ती नेताले थपे, ‘जसपाले निर्णय गरेन।’

जसपाले संस्थागत निर्णय नगर्दा पार्टीका नेतैपिच्छे फरक कुरा बाहिर आएका छन्। अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेसको नेतृत्वमा सरकार बनाउन चाहिरहेका छैनन् भन्ने कांग्रेसको विश्लेषण छ।

‘महन्थ ठाकुर र राजेन्द्र महतो ओलीतिरै मिल्छन्। उपेन्द्र यादव र बाबुराम भट्टराई एजेन्डामा हामीसँग नजिक छन्, ओलीसँग कुनै पनि हालतमा मिल्नु हुन्न भन्नेमा उनीहरू छन्,’ ती नेताले भने, ‘जसपा निर्णयविहीन भयो भने अविश्वास प्रस्ताव आउन थप ढिला हुनेछ। तर जसपाले ओली वा कांग्रेसतिर मिल्ने निर्णय गरेमा केही प्रष्ट तस्बिर देखा पर्छ।’

कांग्रेस नेताहरूको विश्लेषणमा जसपा अब एक रहन सक्दैन।

‘ओलीतिर महन्थ र राजेन्द्र मिले भने बाबुराम र उपेन्द्रले नयाँ पार्टी बनाउँछन्, बाबुराम र उपेन्द्र कांग्रेसतिर मिल्ने निर्णय भयो भने महन्थ र राजेन्द्रले अर्को पार्टी बनाउँछन् भन्ने हाम्रो विश्लेषण छ। एक साताभित्र यसबारे थप प्रष्टता होला,’ उनले भने।

जसपा विभाजन भएमा ओलीविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर र मतदान गर्ने सांसदको संख्या पुर्‍याउन आफूहरूलाई थप चुनौती हुने ती नेता बताउँछन्।

यस्तो बेला एमालेमा समानान्तर गतिविधि गरिरहेको माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदले सघाउने आशा कांग्रेसको छ। तर एमालेमा थप विग्रह हुन नदिन भएका पछिल्ला प्रयासले यो सम्भावनालाई कमजोर बनाउन सक्ने कांग्रेसको विश्लेषण रहेको ती नेताले बताए।

‘हामीले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि हतार-हतार संसदको हिउँदे अधिवेशन अन्त्य गरियो। ओली आत्तिएका छन्, त्यही भएर उनले माधव नेपालसँग हिजो होटलमै भेटेर कुराकानी गरे,’ ती नेताले भने, ‘स्पष्टीकरण सोधेका माधव पक्षका २७ सांसदलाई कारबाही नगर्ने रणनीति ओलीको छ। उनले विवाद हल गरेझैं गरी बलियो हुन खोजिरहेका छन्।’

ओली र नेपाल भेटपछि हुने राजनीतिक घटनाक्रमले पनि अविश्वास प्रस्ताव कहिले ल्याउने भन्नेबारे निक्यौल गर्ने ती नेताले बताए।

‘एमाले एक ढिक्का रह्यो र जसपाले कुनै निर्णय गर्न सकेन भने हामीले अविश्वास प्रस्ताव लैजाने गरी कच्चा खेल खेल्न हुन्न भन्ने छ,’ उनले भने,‘अविश्वास प्रस्ताव फेल भयो भने फेरि ओली नै बलियो भएर उदाउने छन्। त्यसैले राजनीतिक कोर्स क्लियर हुन एक साता लाग्छ।’

सम्भव भएसम्म प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिने प्रक्रियामा प्रवेश गर्न दिने पक्षमा कांग्रेस छैन।

‘किनभने, विश्वासको मत लिने प्रक्रिया लामो हुन्छ। यही सरकारले बजेट ल्याउने खतरा हुन जान्छ,’ ती नेता भन्छन्, ‘अविश्वास प्रस्ताव दर्तासँगै छिटै पारित भए त नयाँ सरकार बनिहाल्छ।’

ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन तम्तयार भए पनि कांग्रेसले हतार नगर्ने उनले बताए।

‘हामी त तम्तयार हो। तर हतार गर्नु भएन। बरू ढिलो गर्‍यो भनेर आलोचना खेप्नु राम्रो हुन्छ, पास नहुने गरी अविश्वास प्रस्ताव ल्याएर पार्टीलाई बदनाम बनाउनु हुन्न,’ उनले भने।

कांग्रेसले परिस्थितिको राम्रोसँग आँकलन र पूर्वानुमान नगरेको भए अहिलेसम्म अविश्वास प्रस्ताव फेल भइसक्ने उनी बताउँछन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने समय चिनेर सभापति शेरबहादुर देउवाले ठोस निर्णय लिन नसकेको बताउँछन्। ओली सरकार परिवर्तन गर्ने भनेर कांग्रेस पहिलेदेखि नै लागिरहेको पौडेलले बताए।

‘जोखना हेर्दाहेर्दै पहिले पनि सरकार ढाल्ने उपर्युक्त समय मिस गरियो,’ उनले सेतोपाटीसँग भने, ‘अब ढिला गर्नु हुन्न, सभापतिले अलि पहल गर्नुपर्छ।’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ओली सरकार हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।

पौडेलले सभापतिलाई छिटो अविश्वास प्रस्ताव ल्याउन भनिएको पनि बताए।

‘मिति घर्केपछि अविश्वास प्रस्ताव ल्याएर काम छैन, समयमै काम गर्नुपर्ने हुन्छ,’ उनले भने।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले एमाले भित्रको पछिल्लो संवादलाई कांग्रेसले राम्रोसँग अध्ययन गर्नुपर्ने बताए।

‘अविश्वास प्रस्तावबारे केही टुंगो लागेको छैन,’ उनले भने, ‘राजनीतिक घटना क्रमलाई हामीले राम्रोसँग बुझेरमात्रै अगाडि बढ्नुपर्छ।’

संसदमा नेकपा एमालेका १२० सांसद छन्। नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३२ सांसद छन्। जसपाले नयाँ सरकार बनाउने कि यही सरकारलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन।

माओवादी केन्द्रले ओलीको विकल्पमा कांग्रेस नेतृत्वमा सरकार बनाउन समर्थन गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP