मंगलबार , बैसाख २९, २०८३

झापा । जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो । डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छ जनाको हात्ती आक्रमणमा ज्यान गएको छ भने छजना घाइते भएका थिए । यसैगरी, विसं २०७९ मा सात जनाको मृत्यु र आठजना घाइते भएको उनले जानकारी दिए ।

डेढ वर्षमा छ हात्ती मरेको तथ्याङ्क वन कार्यालयमा रहेको छ । गत वर्ष तीन र चालु आर्थिक वर्षमा तीन गरी छ हात्ती मरेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ । त्यसमा सात गैरनेपाली पनि छन् । एक दशकमा ७५ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ ।

जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क उपलब्ध छैन ।

मेचीपारी भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेल बताउँछन् । सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गर्न थालेका छन् ।

गत कात्तिक १९ गते बाहुनडाँगीको गौडाबाट नेपाल प्रवेश गरेका ३६ हात्तीले हाल मोरङ र सुनसरीमा बितण्डा मच्चाइरहेका छन् । एक दशकयता नेपालकै जङ्गलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका वडा नं ३ का सीताराम वाँस्तोलाले बताए । एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्ने गरेका छन् ।

सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ । अधिकांश पीडितले बेलैमा सो रकम नपाएको गुनासो छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले रु १० लाख राहत दिने व्यवस्था छ ।

सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत २० हजार रुपैयाँसम्म दिने कानुनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्‍याएको अवस्थामा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन वन कार्यालयका अधिकृत पराजुलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP