
काठमाडौं । सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ।
छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताए । यस्तै प्रधानमन्त्री प्रचण्डले सो घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताए ।
यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ।यस्तै, इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय पनि सरकारले गरेको छ।शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।
त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो। घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।