
काठमाडौं । एनसेल घोटाला प्रकरण छानबिन गर्न विश्वसनीय न्यायिक आयोग गठन गर्नु पर्ने लगायतका मागसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको माइतीघरमा गरेको धर्नाबाट प्रहरीले २२ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ ।
संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । एनसेलको शेयर बिक्री हुँदा कर छली भएको घटनालाई समाजले महाघोटाला र राज्य विरुद्धको अपराध भन्दै आएको छ । र उसले निरन्तर प्रदर्शन पनि गर्दै आएको छ ।
घोटाला प्रकरणमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुकै संलग्नताको तथ्य बारम्बार प्रकाशमा आएको भन्दै शान्ति समाजले विश्वसनीय न्यायीक छानविन आयोगको माग गर्दै आएको छ । सरकारले छानबिन गर्न पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको छ ।