मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । मुलुकका  मध्यपहाडी  जिल्लालाई  यातायात  सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा हुँदै छ । यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ ।

यसका साथै दस वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक  प्रधानमन्त्री  हुँदा  सुरु  भएको  यो  राजमार्ग  हालसम्म करिब तीन तिहाइ निर्माण भइसकेको छ । मुलुकलाई पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो ।

पूर्वमा  पाँचथरको  चिवाभन्ज्याङ  (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करिब एक हजार ८७९  किलोमिटर  लम्बाइको  निर्माणाधीन  यो  राजमार्गको अहिलेसम्मको भौतिक प्रगति ७२.९६ प्रतिशत र वित्तीय प्रगति ७८.२४ प्रतिशत पुगेको उक्त राजमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

उनले   भने,  “राजमार्गको   कुल   लम्बाइमध्ये  आयोजनाबाट  ९४८  किलोमिटर,  अन्य सडक निकायबाट ४६२ किलोमिटर गरी एक  हजार  ४१०  किलोमिटर  सडक  कालोपत्रे  भइसकेको छ भने अहिले ३५३ किलोमिटर सडक निर्माणाधीन  छ  ।” उनका  अनुसार  यस  राजमार्ग  अन्तर्गत निर्माण गर्नुपर्ने १३७ पुलमध्ये १०२ वटा पुल सम्पन्न भइसकेका छन् भने अहिले २० वटा पुल  निर्माणाधीन  छन्  ।

त्यसै  गरी  अहिलेसम्म  ११६ किलोमिटर सडक र १५ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छन् । यो आयोजना अन्तर्गत अहिलेसम्म  ६५  अर्ब  ९७  करोड  रुपियाँ  खर्च  भइसकेको छ । यस राजमार्ग अन्तर्गत निम्न १० वटा आधुनिक सहर निर्माण गर्ने लक्ष्य लिइएको छ । जसमा फिदिम (पाँचथर) वसन्तपुर (तेह्रथुम) खुर्कोट (सिन्धुली) बैरेनी (धादिङ) डुम्रे (तनहुँ) बुर्तिबाङ (बागलुङ) चौरजहारी (रुकुम) राकम कर्णाली (दैलेख) साँफेबगर (अछाम)  र पाटन (बैतडी) गरी १० वटा आधुनिक सहर निर्माण हुने छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP