आइतबार , बैसाख १४, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका मध्ये १०० जना हाराहारी नेपाली हराइरहेको र घाइते भएको उजुरी आएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा परराष्ट्रमन्त्री साउदले यो जानकारी दिएका हुन् ।  उनका अनुसार करिब २ सय नेपाली रुसी सेनामा संलग्न भएको अनुमान छ  ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले रुसी सेनामा नेपालीलाई सहभागी गराइएकोबारे त्यहाँको सरकारलाई चासो राखिएको बताए ।

‘रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ । यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्’ मन्त्री साउदले भनेका छन्,’यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरू रुसी सरकारसम्म पुर्‍याउनका लागि स्पष्ट सन्देश दिएका छौँ । मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरेका छौँ । यसमा हामी प्रयत्न गरिरहेका छौँ ।’

रुसी सेनामा कति नेपाली संलग्न छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ छ । ‘करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किन भने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो संख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ,’ उनले भने ।

सरकारले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)को प्रबन्ध गरिएको पनि साउदले जानकारी दिए । उनले दक्षिण एसियाको भारत, बंगलादेश र श्रीलंका तथा खाडी क्षेत्रका ६ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको जानकारी दिए । उनले थप कोही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाइएको बताए ।  रुसी सेनामा नेपाली नागरिक सहभागी हुन नपाउन् भन्नका लागि सरकारले आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी नराखेको उनको दाबी छ ।

युक्रेनमा बन्दी बनाइएका नेपालीलाई नेपाल फर्काउन पहल भइरहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए । उनले भने, ‘युक्रेनमा बन्दी बनाइकाका हकमा हामी युक्रेन सरकारको सम्पर्कमा छौँ । युक्रेन हेर्ने हाम्रो राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहनुभएको छ । दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका छौँ । यसको परिणाम चाँडै आउँला भन्ने मैले विश्वास लिएको छु ।’

त्यस्तै, हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पनि सरकारले पहल गरिराखेको मन्त्री साउदले जानकारी दिए । ‘विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु । अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ । आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ,’ उनले भने ।   हमासले इजरायलमाथि आक्रमण गरेसँगै जोशीलाई बन्धक बनाएर लगेको थियो। हमासले इजरायलमाथि आक्रमण गर्दा त्यहाँ पढ्न गएका १० नेपाली विद्यार्थी मारिएका थिए भने जोशीलाई बन्धक बनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP