
काठमाडौं । सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ ।
पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले यसको शुभारम्भ गरेका हुन् । यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो । प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।
‘यो एउटा सुखद क्षण हो,’ अब भनसुन, आग्रह गरेर पेशी तारेख तय नहुने भन्दै प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित प्रणाली शुरु गर्दै भने, ‘न्यायिक प्रशासनिक कामकाबारहीमा सरलता त दिन्छ नै, यसप्रति सबैको विश्वास सबैले अपनाउँछन् ।’ स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु भएपछि कर्मचारीहरूले आफ्नो ईच्छा अनुसार तारिख तोक्ने हालको पद्दति हट्नेछ । स्वचालित रुपमा तारिख दिइनेछ । । मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुन्छ ।