मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ ।  विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन । चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ ।

पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले आर्थिक मन्दीका कारण ग्यासको खपतमा कमी आएको जानकारी दिए ।

“विगतका वर्षमा चिसोको समयमा ग्यासको खपत २० देखि २५ प्रतिशतसम्म बढ्ने गरेको थियो,” अध्यक्ष घिमिरेले भने, “बिजुलीको नियमित आपूर्ति नहुँदा उपभोक्ता बिजुलीमा पूर्ण भर पर्ने अवस्था छैन, आर्थिक गतिविधि सुस्त भएकाले ग्यासको खपतमा कमी आएको हो ।”

५९ उद्योगका पौनै दुई करोड सिलिन्डर उपभोक्ताका घरमा छन् । विगतका वर्षमा एउटा घरमा तीन वटा सिलिन्डर बराबर एक सिलिन्डर मासिक ग्यास खपत हुने गरेकामा अहिले आएर त्यसमा २० देखि ३० प्रतिशतसम्म ग्यास खपत घटेको उनको भनाइ छ ।

निगमका अनुसार चालु आवको साउन महिनामा ४० हजार ४५६ मेट्रिक टन आयात भएको छ । यस्तै भदौ महिनामा ४५ हजार ९५९ मेट्रिक टन, असोज महिनामा घटेर ३८ हजार ८८६ मेट्रिक टनमा झरेको छ । यस्तै कात्तिक महिनामा ४२ हजार ६८६ मेट्रिक आयात भएकामा मङ्सिर महिनामा ४३ हजार ५१२ मेट्रिक टन ग्यासको आयात भएको छ । सामान्यतया बजारमा मासिक ४२ हजार ६०६ मेट्रिक टन ग्यास खपत हुने गर्छ ।

पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द थापाले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिए ।

आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उनको भनाइ छ । ग्यासको खपत घटेसँगै गत आवमा ग्यासको आयातमा कमी आएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP