
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् ।
शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा शर्माले सभापति देउवा ५–५ पटक प्रधानमन्त्री बनिसकेकाले अब पछि हट्नुपर्ने बताए । अब देउवा पछि हटेर युवालाई अघि सार्नुपर्नेमा उनले जोड दिए । सभापति देउवा आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने बताए ।
‘सभापतिज्यु शालिन र सह्रृदयी हुनुहुन्छ । कमैया, मधेश र एकताकाको विद्यार्थी आन्दोलन उहाँले सफल पार्नुभयो, देउवालाई महामन्त्री शर्माले आग्रह गरे, ५–५ पटक प्रधानमन्त्री हुनुभयो, अब प्रधानमन्त्रीको दौडमा दौडनु हुँदैन । अब शालिनता देखाएर समकालीन कोही छ भने जाऊ, नत्र युवाहरू अगाडि बढ भन्नुपर्छ ।
कांग्रेस सभापतिको शालीनता र सहृदयी भावनाका कारण त्यो दिन पनि आउने अपेक्षा गरेको महामन्त्री शर्माले बताए । शर्माले आफ्नो बोल्ने बेलामा सभापति देउवाका लागि भगवान गौतम वुद्धको आशिर्वाद माग्न चाहेको बताए । शर्माले बोल्दा देउवा भने भाषण गरेर हिंडिसकेका थिए ।
‘सभापति गइसक्नुभयो । नभए मैले सबैभन्दा बढी भगवान गौतम वुद्धको आशिर्वाद सभापतिको शीरमा माग्नेवाला थिएँ’, उनले भने, ‘‘भगवान गौतम वुद्धका थुप्रै कुरा छन्, तर एउटै कुरा थप पुगिदिन्छ भन्ने कामना गर्न खोज्दै थिएँ । त्यो भनेको के हो भने भगवान गौतम वुद्धले वुद्धत्व प्राप्त गर्नुभयो, सत्ताको कुर्सीमा एक पटक पनि नबसीकन ।’