
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठकमा संसदीय फाँटमा आफ्ना सबल र दुर्बल पक्षको समीक्षा गरेको छ । महोत्तरीको जलेश्वरमा मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सन्तोष परियारले सवल र दुर्बल पक्ष समेटेर संसदीय कामको प्रतिवेदन पेश गरेका हुन् ।
संसदीय फाँटमा पार्टी पाँच वटा क्षेत्रमा सबल रहेको प्रमुख सचेतक परियारको ठहर छ । प्रतिवेदनमा संसद्मा पार्टीका सांसदहरूको प्रस्तुति अध्ययन र अनुसन्धानमा आधारित रहेको , सांसदहरूले विषयवस्तुमाथिको गहिरो अध्ययन गर्ने गरेको र सांसदहरूमा भाषाको पकड रहनुका साथै प्रविधिमैत्री पनि रहेको उल्लेख छ । तर केही कमजोरी रहेको पनि उनले औंल्याएका छन् ।
सांसदहरूबिच सामूहिक कार्यको अभाव, सांसदबीच अनावश्यक प्रतिस्पर्धा, व्यक्ति केन्द्रीत प्रस्तुति, प्रचारमुखी चरित्र राजनीतिक बुझाइमा कमी र वैचारिक अस्पष्टता देखिएको प्रतिवेदनमा उल्लेख छ । पार्टीका सांसदहरू दलीय व्यवस्थामा दलको भूमिका बुझ्न नचाहेको पनि विश्लेषण गरिएको छ । सभापति रवि लामिछानेको नागरिकता प्रकरण सामान्य त्रुटि भएपनि राजनीतिक पार्टीहरूले घेराबन्दी गरेर ठुलो मुद्दा बनाएर पार्टीमाथि आक्रमण गरिएको तर्क गरिएको छ ।
गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा प्रतिष्ठित अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेको आगमनले पार्टीलाई थप उचाइमा पुर्याउन सकारात्मक भूमिका खेल्यो प्रतिवेदनमा लेखिएको छ।