
काठमाडौं । दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकाका ३७ ठाउँमा चोरीका घट्ना भएका छन् ।
उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् ।
त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको एसएसपी मैनालीले जानकारी दिए । यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यस्तै काठमाडौंका ५ स्थानमा लुटपाट हुनुका साथै ती घटनामा ३ जना पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।