काठमाडौं । काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुला गरेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
यस्तै, काठमाण्डौको जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ ।








