
काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले जाजरकोट भूकम्प पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ ।
उसले आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि सहयोग उपलब्ध गराउन यस्तो अपिल जारी गर्ने गर्दछ ।
आइएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्वीस फ्रयाङ्क ५० लाख बराबरको आपत्कालीन सहयोग अपिल जारी गरेको हो । आइएफआरसीले विसं २०७२ वैशाखको विनाशकारी भूकम्पपीडितका लागि पनि आपत्कालीन अपिल जारी गर्दै मानवीय सेवा उपलब्ध गराएको थियो ।
आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत हाल जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक परामर्श) सरसफाइ, जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृतरूपमा उपलब्ध गराइराखेको छ ।
राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने काठमाडौंस्थित आईएफआरसी कार्यालयले जनाएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा अकल्पनीय जनधनको क्षति हुन पुगेको थियो । भूकम्पमा १५० भन्दा बढीले अकालमा ज्यान गुमाउनुपरेको छ । भूकम्पबाट प्रारम्भिक तथ्याङ्क अ नुसार ३० हजार घर पूर्णरूपमा अथवा आंशिकरूपमा क्षति भएको र ३८ हजार परिवार प्रभावित भएको जनाइएको छ ।
आईएफआरसीले विज्ञप्तिमा भनेको छ, ‘जाजरकोटमा भूकम्प गएलगत्तै आईएफआरसी तथा आफ्ना साझेदार एवं नेपाल रेडक्रस सहित सम्बन्धित पक्षसँग मिलेर तत्काल मानवीय सेवाका काम गरिराखेको छ । रेडक्रसका दक्ष स्वयंसेवकमार्फत प्रभावितको खोजी, उद्धार तथा राहतका काम द्रुत सञ्चालनमा सहयोग गरिरहेको छ । स्वास्थ्य सेवा प्राथमिक उपचार, मनोसामाजिक सहयोग, रक्त सञ्चार तथा एम्बुलेन्स सेवा, गैरखाद्य सामग्री, वितरणजस्ता तत्कालीन सहयोग उपलब्ध गराइरहेको छ ।’