
मुख्यमन्त्री यादवले आईतवार विहान जारी गरेको शुभकामना सन्देश मार्फत संघ सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै गुहार मागेका हुन । संविधानले प्रदेशलाई दिएको अधिकार केन्द्रको कब्जामा रहेको उनको गुनासो छ । ‘संविधान बनेको आठ वर्ष बितिसक्यो तर संविधानले प्रदेशलाई दिएको अधिकार केन्द्रको कब्जामा छ ।’ उनले मधेशी जनतालाई भनेका छन् ,
‘एउटा प्रहरीसमेत चलाउने अधिकार प्रदेश सरकारलाई छैन । मधेश सरकारलाई तपाईँको सहयोगको खाँचो छ ।’
प्रकृतिले पनि अपेक्षित रूपमा साथ नदिँदा बालीनालीमा असर परेकाले किसान, मजदुर र गरिबलाई सकस परेको उल्लेख गर्दै उनले अब सरकार विकासको मार्गमा दायाँबायाँ कतै नगरी लाग्ने प्रतिबद्धता जनाएका छन् ।
‘जनताको मंगल नै हाम्रो अभीष्ट हो’, शुभकामना सन्देशमा भनिएको छ, ‘यो बाहेक सरकारको कुनै मार्गचित्र छैन । हामीले सपनाहरूलाई नयाँ आयाम दिनु छ ।’ नयाँ ऊर्जा र विश्वासका साथ सेवामा समर्पित हुने उनको प्रतिबद्धता छ ।
‘मधेशमा ब्रम्ह मुहूर्तमा सूप बजाउँदै दरिद्र भगाउने र माता लक्ष्मीलाई स्वागत गर्ने आफ्नै खालको विशिष्ट संस्कृति र परम्परा छ’, मुख्यमन्त्री यादवले प्रदेशवासीलाई भनेका छन्, ‘चारैतिरबाट दियोको प्रकाशले तपाईँहरूको जीवनमा रहेको अँध्याराहरू मेटेर सुख, समृद्धि, सौभाग्य ल्याओस् भनी कामना पनि गर्दछु ।’