
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइका लागि न्यायाधीश केशव घिमिरेको इजलासमा पेसी तोकिएको छ।
नाबालिग बलात्कार मुद्दाको फैसला गर्न पटकपटक पेसी तोकिए पनि विभिन्न कारण सुनुवाइ मिति सरिरहेको थियो। यस्तोमा बिहीबार न्यायाधीश घिमिरेको इजालसमा पेसी चढेको हो।
यसअघि गत असोज ७ गते पेसी चढे पनि यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन।त्यसअघि असोज १ गतेका लागि पेसी तोकिए पनि न्यायाधीश अभावका कारण स्थगन गरी असोज ७ का लागि पेसीमा राखिएको थियो। तर त्यसपछि बिहीबारका लागि यो मुद्दा पेसीमा चढेको हो।
असोज १ गते नै सुनुवाइ गर्ने भनिए पनि केही न्यायाधीश बढुवा भएर उच्च अदालतमा जान बिदाइ भएकाले मुद्दा हेरेनन्। अन्यको सरुवा भएकाले त्यस दिन सुनुवाइ नै स्थगन भएको थियो।
त्यसअघि यो मुद्दामा गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सुनुवाइ भएको थियो। त्यसबेला कार्कीले पीडित किशोरी गौशाला २६ को पञ्जीकरणसम्बन्धी फाइलको ढड्डा नै झिकाउन आदेश दिएको थियो।
उक्त आदेशअनुसार सम्बन्धित स्थानीय तहले बसाइँसराइसम्बन्धी विवरण गत साता जिल्ला अदालतमा पेस गरेको थियो। त्यसैले असोजमै मुद्दाको छिनोफानो हुने अनुमान थियो। तर त्यसबेला कुनै टुंगो लागेन।बिहीबार अन्तिम सुनुवाइ सकिएमा सन्दीपले सफाइ पाउने वा जेल जानुपर्ने फैसला हुनेछ। सन्दीपले एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ।