
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनावको तयारी अगाडि बढाएको छ । आगामी माघ १०, ११ वा १२ गते गर्ने गरी आयोगले तयारी अगाडि बढाएको हो । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि माघ १०, ११ वा १२ मा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिए ।
राष्ट्रिय सभा सदस्यहरुको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्दछ ।राष्ट्रिय सभाका एक तिहाइ सिट हरेक दुई–दुई वर्षमा रिक्त हुन्छन् ।