
काठमाडौं । काभेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-२ स्थित सिलाभन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो २ः१० बजेतिर पनौतीको कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल बोकेको ट्रक ब्रेक फेल भई सडकबाट करिब ६ सय मिटर तल खस्दा त्यसमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सख्त घाइते भएका आचार्य र केसीको शिर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनमा बेथानचोक–२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते भएको र उनको शिर मेमोरियल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।