
काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।
हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जितसँगै नेपाल फाईनलमा नजिक पुगेको छ । राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहित पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।
उसको सुरुवात नै निकै खराब रह्यो । १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ बनाए । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।
हङकङलाई सस्तैमा आउट गर्न करण केसीले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २\२ तथा कुशल मल्ल र मौसम ढकालले एक एक विकेट हात पारे ।