
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार प्रमुख प्रेमकुमार राईलाई भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।
‘लडाकु शिविर घोटाला छानबिन कता पुग्यो ? टुंगियो कि, कहाँ छ ? वाइडबडी खरिद प्रकरण कहाँ पुग्यो ? वाइडबडीमा घोटाला भएको लेखा समितिले निष्कर्ष निकालेर कारबाही गर्न सिफारिस गरेको थियो । यती लिजमा दिएको कहाँ पुग्यो ? ओम्नी फाइल क्लोज भयो कि ? के भयो ? लामिछानेले राईलाई सोधे ।
लामिछानेले एन्फाका तत्कालीन अध्यक्षले गरेको अनियमितताबारे अख्तियारले किन अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भनेरसमेत प्रश्न गरे । ‘तत्कालीन एन्फाका अध्यक्षले भ्रष्टाचार गरेको विदेशीले देख्ने ? हामीले नदेख्ने ?’लामिछानेले भने, मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय अख्तियारले हेर्नपर्छ । तपाईंहरूलाई कसैले छेकेको बाँधेको हो कि ? डर मानेको हो कि ?
त्यस्तै उनले दुई तिहाई मुद्दामा अख्तियार असफल भएको पनि टिप्पणी गरे । ‘विगत ५ वर्षमा मुद्दा दर्ताको नाजुक अवस्था छ । मुद्दा दर्ताको संख्या घटेको छ । डर भएर रहेको हो ? जसको पहुँच छैन उसलाई डर । खोइ त ठूला माछा ?’ उनले अख्तियार प्रमुख राइलाई सोधे ।