
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
५१ वर्षीया नरगिसलाई इरान सरकारले तेहरानस्थित इभिन कारागारमा राखेको छ । लामो समय पत्रकारका रुपमा काम गरेकी नरगिसले पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।
नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छिन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बन्दै गएकी थिईन् । पटक-पटक विभिन्न मुद्दामा जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा उनी जेल परेकी हुन् । उनी सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी भएका बेला पक्राउ परेकी हुन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनका क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए ।
नरगिसलाई १० वर्ष ९ महिना जेल सजषा सुनाइएको छ । त्यस्तै उनीविरुद्ध १५४ कोर्राको पनि सजाय सुनाइएको थियो तर मानवअधिकार समूहका अनुसार भने त्यो सजाय अहिलेसम्म दिइएको छैन । त्यस्तै उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ ।
नोबेल पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।