बिहिबार , बैसाख २५, २०८२

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन्।

शुक्रबार सरोकारवाला सबै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरेका हुन्।

‘यातायात क्षेत्र चुस्त नहुँदा दसैं, तिहार र छठ जस्ता पर्वहरूमा लाखौं यात्रुहरूले सास्ती पाउँदै आएका छन्। यो वर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौं,’ मन्त्री ज्वालाले भने, ‘कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा व्यवस्थापनको काम थाल्छौं।’

यात्रुहरू ठगिने, बीचबाटोमा अलपत्र जस्ता सास्ती ब्यहोर्नु नपरोस् भन्नलाई मन्त्री ज्वालाले सरोकारवाला निकायसँग बैठक गरेका हुन्।

मन्त्री ज्वालाले सिंहदरबारमा बोलाएका कार्यक्रममा राज्यमन्त्री नन्दा चापागाईं, बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनका प्रतिनिधिहरू र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो।

दसैं, तिहार र छठ पर्वमा राजधानी काठमाडौंबाट बर्सेनि १० लाख यात्रुहरू बाहिरिने गरेका छन्।

बाहिरिने यात्रुहरूलाई सुरक्षित पुर्‍याउन मन्त्री ज्वालाले पहल थालेका छन्। मन्त्री ज्वालाको प्रस्तावमा यातायात व्यवसायी महासंघले प्रतिबद्धता पनि जनाएको छ।

‘चाहे ताप्लेजुङ होस्, चाहे जुम्ला होस्, गाडीको अभावमा टीका लगाउनबाट कसैलाई पनि बन्चित हुन दिँदैनौं,’ यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने।

मन्त्री ज्वालाले दसैंको बुकिङ खुल्नुभन्दा अगाडि सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिएका छन्।

‘वर्षातका कारण सडकहरू बिग्रेका छन्, ती सडकहरू तत्काल सुधार गर्नुहोस्,’ मन्त्री ज्वालाले भने।

लगत्तै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता जनाएका छन् भने ट्राफिक महाशाखाले व्यवस्थापनका लागि आफूहरूले कुनै कसरत बाँकी नराख्ने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP