
काठमाडौं । वैदशिक रोजगार विभागले ४३ जनासँग तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा विस एचआर सेलुसन (१४२५) म्यानपावर कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मंगलबार मुद्दा दायर गरेको छ ।
विभागले विस म्यानपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो । विभागले म्यानपावरको इजाजतपत्रसमेत खारेज गरिदिएको छ ।
विदेश पठाइदिन्छु भनेर रकम लिई ४३ जनालाई विदेश नपठाइ ठगी गरेको आरोपमा विभागले विस एचआर सलुसन, यसका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, अमृत श्रेष्ठ, लालबहादुर श्रेष्ठ र कर्मचारी फणिन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो । पीडितले तिरेको रकम र हर्जना रकमसमेत गरी ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ बिगो माग गरिएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
म्यानपावर सञ्चालक र कर्मचारीले विदेश पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग १ लाखदेखि ४० लाख रुपैयाँसम्म ठगी गरेको विभागले जनाएको छ ।
विभागले म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गर्न र पीडितबाट लिएको रकम र उक्त रकमको ५० प्रतिशत हर्जना रकम थप गरेर फिर्ता गर्न मागदाबी गरेको छ । त्यस्तै प्रतिवादीहरुलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय पनि माग दाबी गरेको छ ।