बिहिबार , बैसाख २५, २०८२

काठमाडौं । उपभोक्ता अधिकारकर्मी ज्योति बानिया नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड २०२३ ’ प्राप्त गरेको छ । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा धूम्रमान र मद्यपानको सेवन न्यूनीकरणमा अथक प्रयास गर्दै नसर्ने रोगको रोकथाममा उल्लेखनीय योगदान गरेको मूल्यांकन गर्दै संयुक्त राष्ट्रसंघले मञ्चलाई यो अवार्ड प्रदान गरेको जनाएको छ ।

यो अवार्डको घोषणा संयुक्त राष्ट्रसंघको सभाले मंगलबार राति गरेको हो । यो अवार्ड नेपालले पहिलो पटक पाएको हो । राष्ट्रसंघले नसर्ने रोग र मानसिक स्वास्थ्यमा उल्लेख्य भूमिका निभाएकोमा सरकारी तर्फ निकारागुवा, लेबनान, ओमन र कोस्टारिकाको स्वास्थ्य मन्त्रालयलाई पनि अवार्ड प्रदान गरेको छ भने गैरसरकारी संस्थाहरूमध्ये अमेरिकाको हेल्थ फाइनान्सिङ इन्स्टिच्युट, चेक रिपब्लिकको लूनो र नेपालको उपभोक्ता हित संरक्षण मञ्च रहेका छन् ।

महासभाको अवार्ड घोषणा समारोहमा मञ्चका अध्यक्ष बानिया भर्चुअल माध्यमबाट सहभागी भएका थिए । बानियाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन पनि गरेका थिए । २९ वर्षदेखि निरन्तर मञ्चले जनस्वास्थ्य अधिकार सहित उपभोक्ता अधिकारका क्षेत्रमा गरिरहेको कामको कुनै न कुनै रूपमा मूल्यांकन भएको भन्दै मञ्चका अध्यक्ष बानियाले खुसी व्यक्त गर्दै यो अवार्डले मञ्चलाई अझै गहन जिम्मेवारी थपिएको प्रतिक्रिया दिए ।

बानिया नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्चले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून बनाउने, सुर्तीजन्य पदार्थका विरुद्ध पैरवी गर्ने, विज्ञापन रोक लगाउने, सुर्तीजन्य उद्योग बन्द गराउने, मदिराको विज्ञापन रोक लगाउने जस्ता कुरामा राज्यलाई दबाब दिँदै आइरहेको छ ।

नेपालमा सुर्तीजन्य पदार्थ विरुद्धको ऐन ल्याउनमा मञ्च र यसका अध्यक्ष बानियाको ठूलो योगदान रहेको छ । अवार्ड प्राप्त हुने खबर पाएपछि मञ्च सहित उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरूले मंगलबार राजधानीमा उपभोक्ता अधिकारको अवस्थामा राज्यको दायित्व विषयक अन्तरक्रिया र खुसीयाली कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, एमालेका सांसद जितु गौतम, माओवादीका सांसद रणेन्द्र बराइली र वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलवाल लगायतले उपभोक्ता अधिकारका विषयमा आआफ्ना धारणा व्यक्त गरेका थिए । मञ्चलाई यो भन्दा पहिले पनि विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा पनि सुर्तीजन्य पदार्थको न्यूनीकरणमा योगदान गरेको भन्दै पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP