बुधबार , भाद्र १७, २०८३

झापा । दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् ।

कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएका हुन् । बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन विगाह क्षेत्रफलमा धानको साटो व्यावसायिक कागतीखेती भइरहेको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

उनका अनुसार वडा नम्बर ४ मात्र व्यावसायिक रुपमा कागतीखेती गर्ने किसान २५ भन्दाबढी छन् । उनले विगत चार वर्षअघि किसानलाई निःशुल्करुपमा कागतीको विरुवा नै वितरण गरिरहेको जानकारी दिए ।

‘आठ वर्षअघि विश्व बैंकको लगानीमा हात्ती रोक्ने विद्युतीय घेराबारा १२ किलोमिटर गर्ने र १२ किलोमिटर कागती रोपेर जैविक फेन्सिङ गर्ने भन्ने योजना थियो’, उनले भने, ‘तर बैंकसँग कागती रोप्नेभन्दा ढुङ्गामुढा लगाउन सस्तो पर्ने भएपछि कागती खेती भएन ।’

वडा नम्बर ४ मगरडाँडाका सन्तोष अधिकारीले कागती बेचेर बार्षिक २५ लाख रुपैयाँ आम्दानी गरेको बताए । उनले धानखेतीबाट भन्दा कागती खेतीबाट प्रतिविघा पाँच लाख रुपैयाँ भन्दा बढी नाफा भएको बताए । अधिकारीले चार वर्षअघि दुई विघा जमिनमा धानको साटो कागतीखेती सुरु गरेका थिए ।

विरुवा लगाएको तीन वर्षदेखि कागतीले आम्दानी दिन सुरु गरेको थियो । उनले बाह्रै महिना फल्ने सुनकागतीको खेती गरेका छन् । कागती किन्नका लागि विर्तामोड, धुलाबारी, काँकरभिट्टाका व्यापारीहरु घरमै आउने गरेको उनको भनाइ छ । बगानमै प्रतिकेजी ७५ रुपैयाँले कागती बिक्री हुँदै आएको उनले जानकारी दिए ।

‘धान तथा मकै बाली भित्र्याउन हात्तीले दिँदैनथ्यो’, उनले भने, ‘तर कागती खेतीमा भने समस्या छैन ।’राम्रोसँग गोडमेल, समयमै मल, पानी गरेर स्याहार गर्न सके प्रतिबोटमा छ हजार दानासम्म फलाउन सकिने अधिकारीको अनुभव छ ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP