मंगलबार , बैसाख २९, २०८३

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आबद्ध कर्मचारीहरूले आइतबार प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेलाई काम गर्ने वातावरण नभएको भन्दै ज्ञापनपत्र बुझाए। अनि आफ्ना विरोधका कार्यक्रम सार्वजनिक गरे।

ज्ञापनपत्रमा भनिएको थियो — २४ गते नै तीन घन्टा पेन डाउन गर्ने। २५ र २६ गते कार्गो जाँचपास शाखाबाट हुने निकासी पैठारीका सम्पूर्ण कार्य बन्द गर्ने।

आइतबार सांकेतिक विरोध जनाएका कर्मचारीहरूले सोमबार आंशिक रूपमा जाँचपास बन्द गरेको बताएका छन्।

‘हामीले हाम्रो विरोध जनाउन खोजेको हो, हाम्रो चाहना माग सम्बोधन होस् भन्ने हो,’ कार्यालयका एक कर्मचारीले भने, ‘हामीले आज पूर्ण बन्द गर्ने भने पनि सचेत भएर आंशिक मात्रै बन्द गरेका हौं।’

आधिकारिक रूपमा बन्द किन गरेको भन्ने विषयमा भने कुनै कर्मचारी बोल्न चाहँदैनन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा समेत कुनै आधिकारिक संगठन वा व्यक्तिको नाम उल्लेख गरिएको छैन।

सामान्यतयाः यस्ता विरोधका कार्यक्रममा अधिकृत तहसम्मका कर्मचारीको सहभागिता हुने भए पनि यहाँ उच्च अधिकारीहरूको पनि समर्थन देखिएको छ।

‘यहाँ तल्लो तहका कर्मचारीको मात्रै समस्या होइन, पूरा सिस्टममै समस्या भएको छ। यसकारण हामीले पनि केही भन्न सक्ने स्थिति रहँदैन,’ एक उच्च अधिकारीले भने।

प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले विरोधका कार्यक्रमको विषयमा आफूलाई कर्मचारीहरूले जानकारी गराए पनि यो ठीक वा बेठीक भन्ने सवालमा प्रतिक्रिया दिन मानेनन्।

कर्मचारीको एउटै गुनासो काम गर्ने वातावरण नभएको छ। ब्रेक सुमा सुन लुकाएर ल्याएको प्रकरणमा कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरूले कार्य वातावरण बिग्रेको गुनासो गरेका छन्।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अघिबाट जाँचपास भइसकेको क्रममा ६० किलो सुनसहित ब्रेक सु बरामद गरेको थियो। त्यसपछि अनुसन्धानका क्रममा विभिन्न तह र तप्काका कर्मचारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ।

उनीहरूले सम्बद्ध हुन आशंका गर्न मिल्ने कर्मचारीलाई मात्रै नभई जो कोहीलाई पक्राउ गर्ने गरेको भन्दै विरोध जनाएका छन्। उच्चपदस्थ अधिकारीहरूले पनि थाहै नदिई धरपकड गर्ने गरेको भन्दै आपत्ति जनाएका छन्।

‘कुनै कर्मचारी शंका लाग्यो भने यो कर्मचारीप्रति शंका छ, हामी अनुसन्धानमा लगेका छौं भन्नेसम्मको जानकारी गराउन सकिन्छ। तर त्यसो पनि नगरी मनपरी धरपकड गरिएको छ। यसले कार्य वातावरण बिगारेको छ,’ एक अधिकारीले भने।

विगतमा काम गरेको आधारमा समेत पक्राउ गर्ने सूचना आएको भन्दै उनीहरूले भदौ १२ गते सामूहिक सरूवा समेत माग गरेका थिए। त्यसपछि पुनः विमानस्थल भन्सार कार्यालयमा कार्यरत कर्मचारीलाई पक्राउ गर्न थालेपछि आन्दोलित हुन बाध्य भएको गुनासो उनीहरूको छ।

‘सुन तस्करीमा संलग्न कोही छ भने पक्राउ गर्ने विषयमा हाम्रो विरोध होइन। अनुसन्धानमा बोलाइन्छ भने हाम्रो विरोध होइन। त्यो सिस्टममा नै नजोडिएको व्यक्तिलाई समेत पक्राउ तथा धरपकड गर्ने काम भएको छ,’ एक कर्मचारीले भने, ‘हामीलाई समेत जतिसुकै बेला पक्राउ हुनसक्छ भन्ने मनस्थिति भयो।’

उनीहरूले यस विषयमा आधिकारिक कर्मचारी ट्रेड युनियनलाई जानकारी गराएको र उनीहरू समेतको सुझावको आधारमा विरोधका कार्यक्रम अघि बढाएको बताए। उनीहरूले सात बुँदै माग राखे पनि ६० किलो सुन तस्करीको विषयलाई लिएर कर्मचारी पक्राउ गर्न र सोधपुछका नाममा दुःख दिन नपाइने बताएका छन्।

‘त्यति बेला जाँचपासमा जो थियो, उसको केही कमजोरी भयो होला। तर मूल्यांकन शाखामा बसेको व्यक्ति, लोकल एरिया म्यानेजमेन्ट (जसले कागजपत्र हरेर जाँचपासको स्वीकृति दिन्छ) मा बसेको कर्मचारीलाई पनि पक्राउ गरियो। विगतमा काम गरेकालाई पनि पक्राउ गरिँदैछ भन्ने खबर आएको छ। यसकारण हामी काम गर्न सक्ने अवस्थामा छैनौं,’ ती कर्मचारीले भने।

यस्ता छन् कर्मचारीका सात माग

  • नियमित कार्यलाई अनुसन्धानको बहानामा तथा अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी निर्दोष कर्मचारीहरूलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने।

  • कार्यालयमा आवश्यक भौतिक पूर्वाधारहरू आधुनिक प्रविधिहरूको व्यवस्था यथाशीघ्र गरिनुपर्ने।

  • कार्यस्थलमा डरत्रास बिना, निर्भिक रूपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने।

  • अनुसन्धान गर्ने विभिन्न निकायले बिना प्रमाण, पक्राउ पुर्जी अनुमति नलिई कर्मचारीहरूलाई गिरफ्तार गर्ने, दुःख दिने, हैरानी दिने कार्य अविलम्ब बन्द हुनुपर्ने।

  • सिआइबीले बिना प्रमाण केही कर्मचारीहरू गिरफ्तार गरी हिरासतमा लिएको अवस्थामा के–कति कारणले गिरफ्तार गरेको हो? सो विषय कर्मचारी कार्यरत कार्यलयलाई समेत जानकारी नदिई अमानवीय तथा अपराधिलाई जस्तै निकृष्ट व्यवहार गरी गिरफ्तार गरेको हुँदा यस्ता कार्य अविलम्ब बन्द हुनुपर्ने।

  • अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी मिडियाबाजी गर्ने, दोषी प्रमाणित नहुँदै संविधान प्रदत्त गोपनीयताको हक बर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अविलम्ब बन्द गरिनुपर्ने।

  • सिआइबीबाटै सञ्चार माध्यमहरूलाई उपलब्ध गराएको सूचना अनुसार घटनाका मुख्य योजनाकार तथा सोसँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका त्यस्ता पहुँचवाला व्यक्तिलाई निजको राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने।

भन्सारको काम रोक्न पाइँदैन

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भन्सार तथा कार्गो जाँचपासको काम रोक्न नपाइने बताएका छन्।

उनले कर्मचारीको मागप्रति विभाग सचेत रहेको भन्दै माग सम्बोधन गराउने नाममा सेवा बन्द गर्न नपाइने बताएका हुन्।

‘यो अत्यावश्यक सेवा हो, कुनै पनि बहानामा सेवा बन्द गर्नु पाइँदैन सेवा बन्द हुँदैन,’ खड्काले भने, ‘आइतबार पेन डाउन गर्ने भनेपछि भन्सार महानिर्देशकले चासो दिनुभएको थियो। उहाँहरूसँग छलफल पनि भएको थियो। आज विरोधको कार्यक्रमबारे थाहा थिएन।’

उनले कर्मचारीले आफ्ना माग प्रमुख भन्सार प्रशासकमार्फत् विभागमा ल्याउन सक्ने तर विरोधका नाममा सेवा बन्द गर्न नमिल्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP