
काठमाडौं । झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार छन् । ब्रेक सु मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाइएको छ । यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो । यसअघि विमानस्थल भन्सारकै दुई अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितका चार कर्मचारी पक्राउ परिसकेका छन् ।
सुन तस्करी पक्ररणमा शनिबार पक्राउ परेका ३ सहित ३१ जना सीआईबीको नियन्त्रणमा छन् । सीआईबीले विमानस्थल भन्सारकै उपसचिव श्रीधर टण्डनमाथि पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन ब्रेक सुबाट निकालेर गाल्दा ६० किलो भन्दा केही बढी भएको खुलेको थियो ।