
नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको एकै पटक उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरे ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।
उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनीकरणमार्फत देशको दीगो विकासमा महत्वपूर्ण पाइला भएको बताए ।
विद्युतीय सवारी साधनको प्रवर्द्धन नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्न कार्य भइरहेको बताए ।
आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जा सचिव घिमिरेले विद्युतीय सवारी साधनको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए ।
विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताए । उनले प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको समेत जानकारी दिए ।
एसियाली विकास बैंककी दक्षिण एसिया ऊर्जा महाशाखा प्रमुख सुजाता गुप्ताले कार्बन उत्सर्जन घटाउने यातायात महत्वपूर्ण क्षेत्र भएकाले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माणमा जोड दिइन् ।
चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।
आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो ।
हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।
चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो ।
सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
क्र.सं. | स्थान | जिल्ला | सङ्ख्या |
१ | धार्के | धादिङ | २ |
२ | मुग्लिङ | चितवन | १ |
३ | साझा सेवा बल्खु | काठमाडौं | २ |
४ | साझा सेवा पुल्चोक | ललितपुर | १ |
५ | नेपाल विद्युत प्राधिकरण, रत्नपार्क | काठमाडौं | १ |
६ | नेपाल पुलिस क्लब, भृकुटीमण्डप | काठमाडौं | १ |
७ | पारस बसपार्क | चितवन | २ |
८ | खुर्कोट | सिन्धुली | २ |
९ | सिन्धुली बसपार्क | सिन्धुली | १ |
१० | इलाका प्रहरी कार्यालय बर्दिबास | महोत्तरी | २ |
११ | हरिवन | सर्लाही | २ |
१२ | इनरुवा बसपार्क | सुनसरी | १ |
१३ | प्रहरी पेट्रोल पम्प, लाहान | सिराहा | २ |
१४ | कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा | कास्की | २ |
१५ | पर्यटक बसपार्क पोखरा | कास्की | १ |
१६ | दमक बसपार्क | झापा | २ |
१७ | बेलका नगरपालिका | उदयपुर | २ |
१८ | बिर्तामोड बसपार्क | झापा | २ |
१९ | सुर्खेत बसपार्क | सुर्खेत | २ |
२० | हेटौंडा, रातमाटे | मकवानपुर | २ |
२१ | विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी | भक्तपुर | १ |
२२ | प्रहरी पेट्रल पम्प, सामाखुसी | काठमाडौं | २ |
२३ | बेगनास ताल, पोखरा | कास्की | १ |
२४ | बुटवल बसपार्क | रुपन्देही | २ |
२५ | इटहरी | सुनसरी | १ |
२६ | विराटनगर | मोरङ | १ |
२७ | कोहलपुर नयाँ बसपार्क | बाँके | २ |
२८ | धनगढी | कैलाली | २ |
२९ | त्रिशूली हावा घर | नुवाकोट | १ |
३० | बट्टार, त्रिशूली | नुवाकोट | १ |
३१ | कुश्मा | पर्वत | १ |
३२ | लमही बसपार्क | दाङ | २ |
३३ | लम्की | कैलाली | १ |
जम्मा | ५१ |