मंगलबार , बैसाख २९, २०८३

पाटन उच्च अदालतले हुम्लामा ६ महिने बालकको मृत्यु भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेतलाई कारण देखाऊ आदेश जारी गरेको छ।

प्राधिकरणको निर्णयका कारण हवाई उडान रोकिँदा उपचार हुन नपाई बालकको मृत्यु भएको भन्दै परेको रिटमा मंगलबार उक्त आदेश जारी भएको हो।

प्राधिकरणले साउन १२ मा देशका पहाडी तथा हिमाली विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने लगायतका ५ बुँदे निर्णय गरेको थियो।

अधिवक्ता गणेश ओलीले दायर गरेको रिटमा हचुवाको आधारमा गरिएको उक्त निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका ६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको उल्लेख गरेका थिए। उनले आइतबार उच्च अदालतमा रिट दायर गरेका हुन्।

अधिवक्ता ओलीले मृतक नाबालकको परिवारलाई क्षतिपूर्तिको लागि आदेश दिनसमेत माग गरेका थिए।

न्यायधीश दुर्गबहादुर विश्वकर्माको एकल इजलासमा निवेदकको तर्फबाट अधिवक्ता ओलीका साथै अधिवक्ताहरू धर्मराज रेग्मी, लोकेन्द्र ओली र शिवराज रिमालले बहस गरेका थिए।

‘मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ को हकमा उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत् तथा विपक्षी नं. २ र ३ को हकमा आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नुहोला,’ आदेशमा भनिएको छ।

रिटमा विपक्षी नं. १ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, विपक्षी नं. २ नेपाल नागरिक उड्डयन प्राधिकरण र विपक्षी नं. ३ प्राधिकरणका महानिर्देशक अधिकारीलाई उल्लेख गरिएको छ।

आदेशमा अन्तरिम छलफलका लागि भदौ २५ गते पेशी तोकिएको छ।

रिट माग दाबी गरिएको विषय हवाई उडानजस्तो संवेदनशील र हवाई सुरक्षाको विषयसँग सम्बन्धित रहेकाले अर्को पक्षको समेत कुरा सुनी अन्तरिम आदेशको लागि उपयुक्त निर्णय लिइने आदेशमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP