
काठमाडौँ । आइएमई समूहद्वारा प्रवद्र्धित तिप्ल्याङ्ग–कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत् खरिद विक्री सम्झौता सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र तिप्ल्याङ्ग–कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलवार नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रमका बीच उक्त खरिद विक्री सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
आयोजना स्थलमा राजमार्गको पहुँच रहेको छ भने प्रसारण लाइनसमेत बनिसकेको अवस्था छ ।
प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम ८.४० रुपैयाँ प्रति युनिट र वर्षायाम ४.८० रुपैयाँ प्रतियुनिट र व्यापारिक उत्पादन सुरु मितिबाट वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म मूल्य वृद्धि गरी खरिद गर्नेछ ।
आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति निर्माण सम्पन्न भैसकेको कालीगण्डकी करिडोरअन्तर्गत दाना सवस्टेशनमा जोडिनेछ ।
आइएमई समूहबाट प्रवद्धित हाईड्रो सपोर्ट प्रालिबाट ६६.३ मेगावाट क्षमताको माथिल्लो मध्यकालीगण्डकी जलविद्युत आयोजनाको विद्युत् खरिद विक्री सम्झौता यसअघि नै सम्पन्न भइसकेको छ ।
यी दुइवटा आयोजनाको कूल विद्युत् क्षमता सुख्खा याममा २९५.४६८ र वर्षा याममा ६३०.८९५ गरी कूल वार्षिक ९२६.३६५ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।
उपरोक्त दुवै आयोजना २०८६ साल असार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।
आयोजनाको कूल लागत ३३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । आयोजनामा स्वपुँजी लगानी आइएमई समूहलगायतबाट हुनेछ भने वित्तीय व्यवस्थाको लागि नविल बैक लिमिटेडको अगुवाइमा प्रक्रियामा रहेको छ ।
यस आयोजनबाट स्थानीयलाई शेयर लगानी गर्ने अवसर प्राप्त हुने भएकाले दीर्घकालीन आयस्रोतको माध्यमसमेत हुन सक्ने अपेक्षा गरिएको छ ।
साथै, राष्ट्रिय एकीकृत ऊर्जा प्रणालीमा थप १५२.३ मेगावाट विद्युत् अभिवृद्धि हुन गई विद्यमान ऊर्जा संकट न्यून गर्ने अपेक्षा गरिएको छ ।