मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ ।तर दुवै गन्तव्यको पहिलो उडानमा एक जना पनि यात्रु थिएनन् । आइतबारदेखि मात्र टिकट बुकिङ खुला गरेका कारण मंगलबारको उडानमा यी दुवै गन्तव्यमा जाने यात्रु भैरहवाबाट भने नचढेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको बताए ।

आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए । हङकङ जाने यात्रुलाई काठमाडौंँ हुँदै गन्तव्यमा पुर्‍याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ । मलेसियाको क्वालालाम्पुरबाट आएको निगमको जहाज मंगलबार भैरहवा अवतरण गरेको हो । यही जहाजले हङकङ र नयाँ दिल्ली जान टिकट काटेका यात्रुलाई काठमाडौं ल्याउने र काठमाडौं ट्रान्जिट गराई सम्बन्धित गन्तव्य लैजाने निगमको योजना छ ।

निगमले भैरहवा-काठमाडौं-मलेसिया उडानमा यात्रुको संख्या कम भएपछि व्यापार बढाउन भनेर ‘कनेक्टिङ फ्लाइट’ सुरु गरेको हो। दिल्ली र हङकङ जोड्दा यात्रु बढे बैंगलोरतर्फ समेत ‘कनेक्टिङ फ्लाइट’ गर्ने उसको योजना छ। तर ‘कनेक्टिङ फ्लाइट’ पहिलो गाँसमै ढुंगा झैं साबित हुन पुगेको छ।

निगमको उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्ने छ । ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी निगमको टिकट किन्न सक्नेछन् । यसअघि निगमले क्वालालाम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ । न्यारोबडी जहाजको सिट क्षमता १५८ हो। तर मलेसिया(भैरहवासम्मको उडानमा यात्रुको संख्या ६० नाघ्न सकेको छैन। धेरैजसो उडानमा ३०-३५ भन्दा यात्रु नपाएको निगमको अनुभव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP