
काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने ठाउँबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । उनका अनुसार ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका मृतक र घाइतेको सबै विवरण आउन समय लाग्ने बताइएको छ । कतिपय नदीमा बगेको पनि हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।