
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र पार्टीजस्तो हुन नसकेको बताएका छन् ।
बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी पार्टी जस्तो नभएकाले सुदृढीकरणको आवश्यकता रहेको बताए ।
यो बैठकबाट रचनात्मक छलफल गरी पार्टी निर्माणको थलोका रुपमा उपयोग गर्न पनि उनले केन्द्रीय सदस्यहरुलाई आग्रह गरे। ‘कम्युनिस्ट पार्टी पुनर्निमाण थाल्नुछ,’ प्रज्ञा भवनमा जारी बैठकमा प्रचण्डले भने, ‘जिम्मेवार र अनुशासित ढंगले आफ्ना विचार राखौँ।’
माओवादी अझै पनि पार्टी जस्तो हुन नसकेकाले व्यापक सुदृढीकरण जरुरी रहेको पनि बताए । उनले यस केन्द्रीय समिति बैठकले पार्टीलाई व्यवस्थित गरेर बलियो बनाउने दिशामा केन्द्रित गर्न सक्ने पनि बताएका छन्।
सम्बोधनका क्रममा प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरोधी अभियान चलाएपछि जनतामा आशा र भरोसा पैदा भएको बताएका छन्।सरकारका कारण पलाएको आशा र भरोसालाई आफूहरुले जनसंगठनमा बदलेर पार्टीलाई बलियो बनाउँदै लैजाने पनि बताए।बैठकमा देशको राजनीतिमा देखिएको पछिल्लो अवस्था र माओवादी भित्रकै बेथिति सुधारेर एक्सन ओरियन्टेड भएर जाने पनि बताएका छन्।