
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरेका छन् ।
संसदको बुधबार बसेको बैठकमा समय लिएर बोल्दै रास्वपा सभापति लामिछानेले उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी पनि दिए ।
१०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर पनि उनले प्रश्न गरे ।‘भरिया मात्र समाउनु थियो होला र ट्याक्सी मात्र समात्यो होला’ सुन तस्करी सेटिङमा भइरहेको भन्दै उनले भने, ‘भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्याउँथ्यो होला नि, मालिकलाई नै कर्याप झ्याप पार्न सकिन्थ्यो होला नि त ? किन गरिएन ? ’
यो प्रकरणमा केही कर्मचारीको सरुवा मात्र गरिएको भन्दै उनले यो पुरस्कार हो कि कारबाही भनेर प्रश्न गरे । डामेर छोडेपछि सूचना लुकाउने अवसर मिल्ने भन्दै उनले गम्भीर हुन अनुरोध गरे ।
यसबारे आफूहरुले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै लामिछानेले भने, ‘गृहमन्त्रीले गम्भीर रुपमा लिएर सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न पाइँदैन ।’