राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका छन्। ३.६ जीपीएदेखि ४ जीपीए ल्याउनेहरु ४ दशमलव ६३ छन्।गत वर्षभन्दा दोब्बर धेरैले ४ जीपीए ल्याएका हुन्। गत वर्ष ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याएका थिए।
त्यसैगरी ३.२० जीपीएदेखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ५५ हजार ६९ रहेको छ। यो जीपीए ल्याउने ११.३६ प्रतिशत छन्।अर्कातिर २.८० देखि ३.२० जीपीए ल्याउनेहरु ७२ हजार ३६२ छन्। यो जीपीए ल्याउने १४.९२ प्रतिशत रहेको परीक्षा बोर्डले जनाएको छ।
२.४० देखि २.८० जीपीए ल्याउनेहरुमा ८९ हजार ३३१ जना छन्। यो जम्मा विद्यार्थीको १८.४२ प्रतिशत हो।२.०० देखि २.४० जीपीए ल्याउने परीक्षार्थीको संख्या १ लाख २२ हजार २९३ छ। २१.०९ प्रतिशत यो जीपीए ल्याउनेमा छन्।
बोर्डका अनुसार १.६० देखि २.०० जीपी ल्याउनेको संख्या ८८ हजार ४४७ छ। यो जम्मा संख्याको १८.२४ प्रतिशत हो।त्यस्तै १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० छन्। यो जीपीए ल्याउने ७.९९ प्रतिशत रहेको बोर्डले जनाएको छ।
अर्कातिर सबैभन्दा कमजोर अर्थात् ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २२ सय छ। यो भनेको जम्मा विद्यार्थीको ०.४५ प्रतिशत हो। २०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता थियो ।
दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।
यसरी हेर्न सकिन्छ नतिजा :
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।








