
महोत्सवमा १५ हजारभन्दा बढी मानिसहरू सहभागी भएको आयोजकले जनाएको छ । महोत्सवस्थल पुग्दा नेपाल पुगेझैँ लागेको आगन्तुकहरूले प्रतिक्रिया दिएका थिए । नेपाली कला तथा संस्कृतिले भरिभराउ रहेको वाटरफ्रन्टमा मेचीदेखि महाकालीको नेपाली संस्कृति झल्किएको थियो ।
त्यति मात्र होइन वीर गोर्खालीको गाथा समेटिएको गोर्खा हाउसदेखि बुद्धको प्रतिमा, धरहरा, स्वयम्भू र सगरमाथा डार्विनको वाटर फ्रन्टपार्कमा देखिन्थे । यस्ता दृश्यले नेपालीलाई मात्र नभएर डार्विनका स्थानीयवासीलाई पनि लोभ्याइरहेको थियो ।
उनीहरूले नेपालको संस्कृति बुझ्न गोर्खा हाउसको भ्रमण गरिरहेका थिए । अस्ट्रेलियनहरूलाई आकर्षण गर्ने उद्देश्यले सजावट गरिएको कार्यक्रमस्थलमा नेपालका ग्रामिण क्षेत्रका चुल्होदेखि नेपाली विवाहको बारेमा जानकारी दिन परम्परागत जग्गेसमेत बनाइएको थियो ।
महोत्सवमा नेपाली सांस्कृतिक तथा नेपाली परम्परागत भोजनका स्टलहरू पनि राखिएका थिए । एनआरएनए नदर्न टेरिटोरीका संयोजक विष्णु चापागाईँले महोत्सवमा करिब १५ हजारको सहभागिता रहेको जानकारी दिए ।
महोत्सवका लागि यहाँको सरकारले तीन वर्षका लागि ९३ हजार डलर प्रदान गर्दै आइरहेको छ । फेस्टिभलको तयारी तीन महिना अघिदेखि नै भएको कार्यक्रमका संयोजक सञ्जीव गोर्खालीले जानकारी दिए ।
फेस्टिभलमा यहाँका मुख्यमन्त्री, मेयर, अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलले सम्बोधन गरेका थिए । अस्ट्रेलियाका लागि नेपाली राजदूत पोखरेलले आफूलाई महोत्सवस्थल मिनी नेपाल जस्तै लागेको बताए । उनले नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण र सुन्दर देश रहेको बताउँदै हरेक अस्ट्रेलियनहरूलाई जीवनमा एक पटक नेपालको भ्रमण गर्न आग्रह गरेका थिए ।
महोत्सवमा नदर्न टेरिटोरीकी मुख्यमन्त्री नताशा फाइल्सले नदर्न टेरिटोरीको आर्थिक विकासमा नेपालीहरूको ठूलो योगदान भएको भन्दै प्रशंसा गरेकी थिइन् । नदर्न टेरिटरी बहुसांस्कृतिक सामाज भएको भन्दै यहाँ एक-अर्काको कला तथा संस्कृतिको सम्मान हुने बताइन् ।
नेपाल महोत्सवलाई राज्य सरकारले दिने सहयोगलाई निरन्तरता दिने पनि उनले प्रतिबद्धता व्यक्त गरिन् । महोत्सवमा स्थानीय तीन वटा ब्यान्डले सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै, चर्चित कलाकार प्रकाश सपुतले पनि दर्शकलाई मनोरञ्जन गराएका थिए ।
Video From Student of Darwin..>>>
Pic Source: Chatra Shankar, Dinesh Pariyar