शुक्रबार , बैसाख १२, २०८२

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेको दुई दिनपछि देउवाले पनि रास्वपा सभापति लामिछानेलाई भेटेका हुन् ।

सत्तारुढ दलका नेताहरुका अनुसार रास्वपालाई सरकारमा ल्याउने गृहकार्य भइरहेको छ, रास्वपा पनि तयार देखिएको छ ।

तर सत्तारुढ दलहरु गृह मन्त्रालय नदिएरै सरकारमा ल्याउन चाहन्छन् भने रास्वपा गृह मन्त्रालय लिएर मात्र सरकारमा जान चाहन्छ । ‘रास्वपाले सरकारमा जान हतार गरेको पनि छैन, आउँदिन पनि भनेको छैन,’ कांग्रेसका एक नेता भन्छन्, ‘छलफलले ठोस आकार लिइसकेको छैन ।’

त्यसैले अब हुने मन्त्रिपरिषद् विस्तारमै रास्वपा समावेश भएन भने पनि आश्चर्य नहुने नेताहरु बताउँछन् ।

तर सत्तारुढ दलहरुको प्रयास भने रास्वपालाई साथमा लिएर जाने नै छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा कुनै विमत्ति नभएको बताउँछन् । ‘तर सरकारमा रहेका गठबन्धनका घटकहरुको निर्णय र रास्वपाको प्रस्तावका बीचमा मिटिङ प्वाइन्ट निस्कन्छ कि निस्किँदैन भन्नेमा भर पर्छ,’ उनले भने ।

रास्वपाले सरकारमा सहभागी हुनका लागि मुख्यतः चार वटा शर्त राखेको छ ।

पहिलो – विगतमा लिएका मन्त्रालयहरु दिनुपर्ने ।

दोस्रो – मन्त्रालयको काममा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउनुपर्ने ।

तेस्रो – संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम पुनर्लेखन गर्नुपर्ने

चौथो – सरकारको निरन्तरताको सुनिश्चितता हुनुपर्ने ।

सत्तारुढ दलका नेताहरु रास्वपाका अरु सबै शर्त मान्न तयार छन् । पुरानै मन्त्रालय पाउनुपर्ने शर्तमा भने अलमल छ । किनकी प्रधानमन्त्रीले गृह मन्त्रालय आफूसँगै राख्न चाहेका कारण २२ माघमा रास्वपाले सरकार छाडेको थियो । अहिले गृहमन्त्रीमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । उनलाई हटाएर गृह दिन प्रधानमन्त्री तयार भइसकेका छैनन् ।

बरु थप एक राज्यमन्त्री लिएर सरकारमा आउन आग्रह गरेका छन् । कांग्रेसका एक नेता भन्छन्, ‘गृह मन्त्रालय बेगर नै रास्वपा सरकारमा सहभागी हुन्छ भन्ने हामीलाई विश्वास छ ।’

विपक्षमा बस्दा प्रमुख प्रतिपक्षी एमालेको छायाँमा पर्ने भएकाले रास्वपा सरकारमा आउने सत्तारुढ दलहरुको बुझाइ छ । रास्वपामा पनि शर्तहरु पूरा हुने अवस्थामा आए सरकारमा गएर काम गर्न सकिने मत छ, तर गृह मन्त्रालय नदिएको अवस्थामा सरकारमा जाने सम्भावना कम देख्छन् ।

कांग्रेस नेताहरुका अनुसार रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाको समान धारण छ । तर गृह मन्त्रालय दिन सकिने वा नसकिने विषयमा देउवाले छिट्टै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई भेटेर छलफल गर्ने सम्भावना छ ।

रास्वपाले पनि शुक्रबार मात्र निर्णय गर्ने बताएको छ । रास्वपा सचेतक निशा डाँगी आफूहरुको शर्त र सत्तारुढ दलहरुको प्रस्तावलाई एकै ठाउँमा राखेर छलफल गरी निर्णयमा पुग्ने बताउँछिन् । उनी भन्छिन्, ‘आगामी शुक्रबार पार्टीको बैठक छ, त्यही खुलेर छलफल हुन्छ । त्यसपछि सरकारमा जाने/नजाने तय हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 50 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP