
काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन् ।
वर्षाले प्रभावित खेलमा नेपाल समूह बिजेता भएका आधारमा फाइनलमा पुगेको छ भने युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । युएई २ रनले विजयी हुँदै फाइनल पुगेको हो ।
त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएल प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमार ३७ रन जोड्दा खेल वर्षाका कारण स्थगित भएको थियो ।
कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएका कारण कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।
उता युएईले भने डीएल प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्यो । युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।
अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।